२८ चैत, एजेन्सी ।
टीआरसी लगायतका विधेयकमा सहमति जुटाउन आज विहान बसेको प्रमुख तीन दलका शीर्ष नेता, सभामुख र प्रमुख सचेतकको बैठक बिना निष्कर्ष सकिएको छ । बिहान बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र प्रमुख सचेतकसहितको बैठक निष्कर्षबिहीन भएको हो ।
अब अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने जनाइएको छ । टीआरसीलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएपनि विषय र प्रक्रियामा पुनः छलफल हुने बताइएको छ । विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमतिले टीआरसीलाई फास्ट ट्रयाकबाट पास गर्ने सत्तारुढको योजना संभवत सकिएको छ ।
विशेष गरी एमालेले यसलाई संसदीय समितिमा लगेर टुंग्याउनुपर्ने बताउदै आएको छ । आजको बैठकमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरु सहमत भएको सभामुख सचिवालयले जनाएको छ ।
आजको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणी पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी थिए । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउने सरकारको प्रस्तावलाई प्रतिपक्षी दलले अस्वीकार गरेपछि सरकारले प्रस्ताव अगाडि बढाएको छैन ।
एमालेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) सत्ता पक्षको एक्लैको विषय नभएको बताउँदै आएको छ । विधेयकप्रति मानव अधिकार आयोग, द्वन्द्वपीडित सम्बद्ध संघसंस्थाले विमति राख्दै आएका छन् । ओलीले विधेयकलाई फास्ट ट्र्याकबाट नभई विधेयकलाई कुनै न कुनै समितिमा लैजानुपर्नेमा जोड दिएका छन् ।
फास्ट ट्र्याकबाट पास गर्दा विवाद हुने भन्दै एमालेले समितिमा छलफल गरेपछि मात्र संसद्बाट पारित गर्नुपर्ने धारणा राख्दै आएको छ । यसअघि शनिबार पनि सभामुख घिमिरेको कार्यकक्षमा तीन शीर्ष नेताको संक्रमणकालीन न्याय र संसदको विषयमा छलफल भएको थियो ।