पत्रकार र प्रहरीकै घेरामा पूर्वसांसदलाई गोली हानियो

पत्रकार र प्रहरीकै घेरामा पूर्वसांसदलाई गोली हानियो

३ वैशाख ,एजेन्सी ।

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा शनिबार रिलमा जस्तै देखिने तर रियलमा इन्काउन्टर भएको छ । उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफलाई प्रहरी र मिडियाकै सामू गोली हानी हत्या गरिएको छ । पूर्वविधायक राजु पालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका अतिक र अशरफलाई प्रयागराजमा रहेको एक अस्पतालमा गएराति स्वास्थ्य जाँचका लागि लैजाने क्रममा गोली हानिएको थियो ।

पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला भिडबाट गोली प्रहार भएको विभिन्न संचारमाध्यमहरुले प्रशारण गरेको भिडियोमा देखिन्छ । प्रहरीका अनुसार आक्रमणकारीहरु पत्रकार बनेर आएका थिए । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तर प्रहरीले आक्रमणकारीको परिचय भने सार्वजनिक गरेको छैन ।

आक्रमणकारीको बारेमा सोधपुछ भइरहेको र थप विवरण आउने प्रहरीले जनाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् । घटनाको विवरण दिँदै प्रयागराजका प्रहरी आयुक्तले भने, “अतीक अहमद र उनका भाइ अशरफलाई कानुनी मापदण्ड पूरा गर्न मेडिकल उपचारका लागि लगिएको थियो ।

त्यही क्रममा घटना भएको हो । अतीक र अशरफ कोल्भिनलाई अस्पताल ल्याइएको थियो । आक्रमण हुँदा मेडिकल चेकअपको लागि ।” अस्पताल नजिकै प्रहरीले घेरिएका अतीक र असरफमाथि पत्रकार भनी आक्रमणकारीले नजिकबाट गोली हानेका थिए र उनीहरुको मृत्युपछि धार्मिक नारा लगाएका थिए ।

गोली चल्दा अतीक र उनका भाइको हात हत्कडीमा बाँधिएको थियो । घटनास्थलमा रहेका रमित शर्माका अनुसार पत्रकार अतीक र उनका भाइसँग कुरा गरिरहेका थिए । त्यही क्रममा पत्रकारको रूपमा देखाइएका हमलाकारीहरूले अचानक गोली चलाए । तीनै आक्रमणकारीलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार घटनामा एक प्रहरी घाइते भएका छन् भने एक पत्रकार पनि सामान्य घाइते भएका छन् । आक्रमणपछि प्रहरीले अस्पताल वरपरको क्षेत्रमा नाकाबन्दी गरेको छ । घटनापछि पूरै उत्तर प्रदेशमा धारा १४४ लगाइएको छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उत्तर प्रदेश प्रहरीले पनि कडा सुरक्षा व्यवस्था गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.