३ वैशाख , काठमाण्डौ ।
देशभरका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् । अहिले सामाजिक सञ्जालमा यो फिल्मका दृश्यहरु छ्याप्छ्याप्ती हालिएको छ । दयाहाङ राई र मिरुना मगर लगायतको यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ ।
निकै आक्रामक कमाइ गरिरहेको फिल्मका लामा–लामा दृश्य पनि टिकटकमा हालिएको छ । यसअघि पनि छक्कापञ्जा ४ पाइरेसी भएको भन्दै निर्माताले साइबर ब्युरोमा उजुरी दिएका थिए । पछि प्रहरीको तदारुकतामा पाइरेसी गरिएका एकाउन्टबाट ती दृश्य हटाइएको थियो ।पछिल्लो समय सामाजिक सञ्जालबाट हुने फिल्म पाइरेसी निर्मातालाई हैरानीको विषय बनिरहेको छ भने ठूलो आर्थिक क्षति पनि पुगेको निर्माता संघले जनाएको छ ।
फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गरेको छ । फिल्मको पहिलो दिनको कमाइ दुई करोड १५ लाख रुपैयाँ ग्रस हाराहारी रह्यो । दोस्रो दिन शनिबारको कमाइ पनि दुई करोडभन्दा माथि रहेको निर्माण पक्षले जनाएको छ ।
तेस्रो दिन आइतबार पनि काठमाडौं र पूर्वी सहरका मल्टिप्लेक्सको अकुपेन्सी उच्च छ । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथाको चलनलाई दृश्यभाषाको रुप दिएको छ । फिल्ममा विजय बराल, प्रेम सुब्बा, रोयदीप लगायतका कलाकार पनि शीर्ष भूमिकामा छन् ।