विराटनगर,भदौ १९
आन्तरिक राजस्व कार्यालय विराटनगरले करदाता शिक्षा तथा करको घुम्ति सेवा बिराटनगर भन्दा बाहिरका क्षेत्रमा सञ्चालन गरेको छ । कर कानूनका विषयमा जानकारी दिने, आर्थिक विद्येयक २०७५ ले प्रदान गरेका छुट सुविधा तथा नयां व्यवस्थाकाका बारेमा करदातालाई जानकारी गराउने तथा विल लिने दिने प्रथामा सुधार गर्ने उद्देश्यले करदाता शिक्षा र अन्तरक्रियाको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
करदाताको कर तिर्ने लागत तथा समय बचत होस भन्ने उद्धेश्यले घुम्ति सेवा सञ्चालन गरेको कार्यालय प्रमुख दिलिप गौतमले बताए । अहिलेसम्म लेटाङ, पथरी, उर्लावारी, सुन्दर हरैचा, बेलवारी, डांगिहाटमा करदाता शिक्षा तथा घुम्ति सेवा सञ्चालन गरिएको छ । यस्तो प्रयासका बाबजुद पनि विवरण नबुझाउने तथा कानून विपरीतका कार्य भए गरेको पाईएमा हदै सम्मको कारवाही हुने समेत कार्यालयले जनाएको छ । करदाता शिक्षाले कर कानुनको परिपालनामा सुधार भई विल लिने दिने प्रथामा समेत सुधार हुने कार्यालयले आशा गरेको छ ।
मुलुक संघिय संरचनामा गई सके पछि स्थानीय तहका नाम तथा ठेगाना पनि परिवर्तन भएका छन् । करदाताको साविकको ठेगाना तथा विवरणमा हालको ठेगाना तथा विवरण नमिल्ने अवस्था भएकोले सवै करदातालाई हालको ठेगाना, तथा विवरण अद्यावधिक गर्ने गरी KYT -Know your Taxpayer फारम मार्फत आफ्नो हालको विवरण अद्यावधिक गर्न सवै करदातालाई अनुरोध पनि गरिएको छ । करको दायरा विस्तार गर्न, PAN FOR ALL को लक्ष्य पुरा गर्न व्यवसाय दर्ता गर्ने निकाय तथा स्थानीय तह समेतसँग छलफल तथा अन्तरक्रिया गर्ने, निरन्तर वजार अनुगमन गर्ने जनाईएको छ ।
तिर्नुपर्ने कर समयमा नतिरी वक्यौता राख्ने ,लामो समय देखि बक्यौता राख्ने, कार्यालयले पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने करदाताको प्रोफाइल तयार भई सकेकोले कानूनी कारवाहीको प्रक्रिया अगि वढी सकेको छ ।विगतमा सम्बन्धित फर्मको मात्र कारोवार तथा खाता रोक्का गर्ने गरिएकोमा अहिले फर्मका संचालक तथा प्रोप्राईटरकै खाता रोक्का गर्ने र सम्पति समेत पत्ता लगाई रोक्का गर्ने कार्य अगाडि बढाई राखिएको छ । कारोवार गर्दा पारदर्शी ढंगले नगर्ने करदाताको कर परीक्षण तथा अनुसन्धानका माध्यमबाट प्रभावकारी ढंगले कारवाही प्रक्रिया नियमित रुपमा अगाडि बढाई राखिएको छ । राजस्व चुहावट हुने क्षेत्रको पहिचान गरी सोही अनुसार अनुसन्धानका कार्यहरु भईरहेका छन् । मूल्यअभिबृद्धि कर क्रेडिट बढी राख्ने करदाताको ब्यापक रुपमा अनुगमन गरिने समेत कार्यालयले जनाएको छ । कार्यालयको समग्र लक्ष्यमध्ये राजस्व असुलीको लक्ष्य पहिलो प्राथमिकतामा रहेको हुंदा सो पुरा गर्ने गरी कार्य भइरहेको कार्यालय प्रमुख गौतमले बताए ।