१६ जेठ, एजेन्सी ।
चीनको औद्योगिक महानगर साङ्घाईमा सय वर्षयताकै उच्च गर्मी भएको छ । मौसम विज्ञान विभागले एक सय वर्षमा सोमबार सबैभन्दा तातो दिन अभिलेख गरिएको जनाएको छ । मौसम विज्ञले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्लो हप्ता विगतका रेकर्ड तोडिएको बताएका छन् ।
हिजो साङ्घाईको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा उच्च तापक्रम ३५ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । भारतका केही भागमा तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । भारत तापक्रमको वृद्धिको असर खेपिरहेको र सो समस्याबाट जोखिममा रहेको देशमध्ये एक हो ।
दिन र रातिको समयमा उल्लेखनीय रूपमा त्यहाँ गर्मी बढीरहेको छ र सन् २०५० सम्म त्यो दुईदेखि चार गुणाले बढ्ने ठानिएको छ । भारतसंगै, बाङ्ग्लादेश, पाकिस्तान, उत्तरपश्चिमी अस्ट्रेलिया, रेड सीको तटीय क्षेत्र अनि गल्फ अफ क्यालिफोर्नियामा तापमान पटकपटक उत्कर्षमा पुगेको पाइएको छ ।
साउदी अरबका दारान र दमाम सहर, कतारको दोहा र यूएईको रास अल खाइममा उच्च तापमान रेकर्ड हुँदै आएका छन् । त्यस्तै, पछिल्लो पटक बङ्लादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो महसुस भएको छ । थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।
उच्च तापमानले सबैलाई प्रभाव पार्छ । तर शरीरमा पानीको कमी, गर्मीका कारण हुने थकान अनि हीट स्ट्रोकको परिणाम विशेषतः मुटु, मिर्गौला अनि श्वासप्रश्वासको समस्या भएका तथा वृद्ध र बालबालिकाका लागि घातक हुनसक्छ । मानव शरीरले चरम गर्मीको लहर होस् वा हिमपात जहिले पनि तापक्रम ३७.५ डिग्री कायम राख्ने प्रयत्न गर्छ ।
तर तापमान बढ्न थाल्दा त्यसलाई घटाउन शरीरले बढी प्रयास गर्नुपर्ने हुन्छ । त्यसैले तापमान कम गर्न छालानजिक रक्तनलीहरू खुल्छन् अनि शरीरबाट पसिना निस्किन थाल्छ । पसिना बाफिएर उडेपछि तापमान नाटकीय रूपमा घट्न जान्छ ।
तीव्र गतिमा उच्च तापमान महसुस हुँदै आएका विपन्न क्षेत्रहरूमा बस्ने मानिसहरूबारे सबैभन्दा धेरै चिन्ता व्यक्त हुने गरेको छ । किनभने गरिब राष्ट्रमा बस्ने र खतरामा रहेकाहरूसँग बिजुलीको पहुँच हुँदैन र उनीहरूले वातानुकूलित अवस्थामा बस्नेबारे सोच्नसक्ने पनि अवस्था रहँदैन ।