२० जेठ, एजेन्सी ।
भारतीय संसद्मा रहेको अखण्ड भारतको भित्तेचित्रलाई लिएर नेपालमा विरोध बढ्दै गएपछि यसबारे भारतले स्पष्टीकरण दिएको छ । भित्तेचित्रलाई लिएर नेपालमा उठेको विवादमा भारतले पहिलो पटक आधिकारिक बयान जारी गरेको हो । नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ ।
यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ । आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भने, ‘संसदमा जे राखिएको छ, त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तिचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ ।
भित्ते चित्र र त्यसको अगाडिको फलकले त्यही कुरा बताउँछ।’ बागचीले भनेका छन् । यस्तै नेपालसँगको औपचारिक वार्तामा पनि यस विषयमा कुनै कुरा नभएको बाग्चीले बताएका छन् । यता नेपालमा भने प्रमुख प्रतिपक्षी एमालेसहितका नेताहरुले यसमा आपत्ति जनाएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड भारत जानु अगाडि नै भित्तेचित्रका बारेमा कुरा नउठाउने हो भने उनको भ्रमण व्यर्थ हुने बताएका थिए । प्रचण्डलाई भारतले मिचेको नेपाली भूभागसहित यो भित्तेचित्रका बारेमा पनि मोदीसंग जवाफ माग्न नेपालबाट ठूलो दबाव थियो । तर भित्रैचित्रका बारेमा कुनै कुरा नै नभएको बाग्चीले बताएका छन् ।
नेपालका इतिहासकारहरूले पनि यसलाई गलत घोषणा गरेका छन् । यसैबीच प्रधानमन्त्री दाहालले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् । भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको आज दिउँसो अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् ।
उनले भने, “टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ । लगानी गर्नुस् त्यसका लागि हामी (नेपाल सरकार) सहजीकरण गर्छौँ ।” प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए ।
सोही क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे । “नेपालको ‘आइटी सेक्टर’मा पर्याप्त जनशक्ति छन् लगानी गर्न आउनुस् हामी स्वागतका लागि आतुर छौँ”, उनले भने । भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दाबढी मुलुकमा काम गर्दै आएको छ ।
उक्त कम्पनीमा छ लाख बढी कर्मचारी आबद्ध छन् । इदौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरुसहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत आएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेशस्थित इन्दोर आइपुगेका हुन् । आज साँझ प्रधानमन्त्री काठमाडौं फर्कंने कार्यसूची छ ।