२३ जेठ, एजेन्सी ।
रूसी नियन्त्रण रहेको खेरसनमा रहेको जलविद्युत् आयोजनाको विशाल बाँध नोभा काखोभमा विस्फोट भएको छ । युक्रेनको सेनाले उक्त बाँधलाई उडाएको रुसी पक्षको दावी छ । युक्रेनको सैन्य प्रशासनले बाढीको उच्च जोखिमका कारण डिनिप्रो नदीको दाहिने किनारमा रहेका धेरै गाउँका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सर्न तयार रहन आदेश दिएको छ ।
३५१ मेघावाट विद्युत उत्पादन गर्ने बाँध दुई हजार २५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । २४० किलोमिटर लामो र २३ किलोमिटर चौडा बाँध तीनदेखि २६ मिटरसम्म गहिरो रहेको बताइएको छ । यस बाँधको पतन स्थानीय क्षेत्रको लागि विनाशकारी हुनेछ । साथै युक्रेनको युद्ध प्रयासलाई असर गर्नेछ। बाँधका कारण पानीको ठूलो भण्डार थन्किएको छ ।
करिब १८.२ घनमिटर पानी रहेको बाँध भत्काउन पछाडि रूस र युक्रेन दुवैले एकअर्काेलाई आरोप लगाइरहेका छन् । यो पानी अमेरिकाको उटाहको ग्रेट साल्ट लेकमा रहेको पानी बराबर हो। रूसी नियन्त्रित युक्रेनी सहर नोभा काखोभकामा रहेका मस्कोका अधिकारी भ्लादिमिर लियोन्तेभले रूसी सरकारी टेलिभिजनसँग बोल्दै बाँधमा भएको क्षति युक्रेनी हमलाको परिणाम भएको बताएका छन् ।
विस्फोटले बाँधमा प्वाल पारेको भन्दै मर्मत गर्न असम्भव रहेको उनको भनाइ छ । कीभले भने आक्रमणको आरोप रूसी सेनालाई लगाएको छ । बाँध विस्फोटले पानीको ठूलो बहाव निम्त्याए पनि डिनिप्रो नदीमा स्थिति धेरै गम्भीर नबनेको र रूसी सेनालाई बायाँ किनारको रक्षा गर्नबाट रोक्न नसक्ने साल्डोको भनाइ छ ।
यो बाँधको पानी युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक प्लान्टमा चिस्यानका लागि आपूर्ति हुनेगर्छ । यस्तै, काखोभका जलविद्युत प्लान्टमा र क्रिमियाको दक्षिणी भागमा पनि यसै बाँधको पानी आपूर्ति हुँदै आएको थियो ।
यो घटनापछि जेलेन्स्कीले ट्वीटरमा लेखे, ‘रुसी आतंकवादी। काखोभका बाँधको विनाशले मात्र सारा संसारलाई पुष्टि गर्छ कि उनीहरूलाई युक्रेनको भूमिको हरेक कुनाबाट निकालिनेछ।’ उनीहरूका लागि एक मिटर जमिन पनि छोड्नु हुँदैन किनकि उनीहरूले प्रत्येक मिटर आतंकका लागि प्रयोग गर्छन्।