जेठ, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन् ।
उनले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताए । उनले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताए ।
सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताएका हुन् ।
उनले भनेका छन्, हामी कहीँ न कहीँ लज्जित भएका छौँ । यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदी पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हामी आत्मआलोचना गर्न चाहन्छौँ ।
हाम्रा दलबाट पनि भएका कमी, कमजोरीलाई आत्मआलोचना गर्न चाहन्छौँ । सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गरे । उनले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गरे ।
उनले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरु बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गरेका छन् । उनले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गरे ।
सभापति लामिगछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरे । त्यसैगरी उहाँले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिना अगाडी नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिएका छन् ।
समसामयिक विषयमा समेत बोलेका रविले आफुहरु जन्मसिद्ध नागरिकहरुले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरु छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको बताए ।
उनले रास्वपालाई नागरिकता विरोधी बनाइएको भन्दै दुख ब्यक्त गरेका छन् । समाचारका हेडलाइनले संसद अबरुद्ध हुन नहुने बताउदै रविले संसदलाई आगामी ५ वर्षपछि उदाहरणीय बनाउन आफूहरुले यसको समुचित उपयोग गर्नुपर्नेमा जोड दिए ।
नयाँ राजनीतिक दल भएका कारण आफूहरुले अन्य दलका सांसदहरुबाट सिक्न चाहेपनि त्यसको उल्टो आफूहरु नै बिग्रिने हो कि भन्ने डर रहेको समेत उनले बताए ।