२८ जेठ,एजेन्सी ।
भारतमा आएको चक्रवाती तुफान ‘बिपरजोय’ आगामी ६ घण्टामा ‘अत्यन्त भीषण गम्भीर चक्रवाती आँधी’ मा परिणत हुने चेतावनी त्यहाँको मौसम विभागले जारी गरेको छ । विभागका अनुसार चक्रवाती आँधी बिपरजोय जुन १५ तारिखसम्म पाकिस्तानको तटीय क्षेत्र र त्यससँगैको सौराष्ट्र र कच्छसम्म निकै भीषण स्वरुपमा पुग्न सक्नेछ ।
पछिल्लो छ घण्टादेखि पाँच किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको छ । तर अबको केही समयमा यसका कारण अरब सागरमा १५५ देखि १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ । अगाडि बढ्दा हावाको गति १९० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ । केही दिनयता अरब सागरमा ‘साइक्लोनिक एक्टिभिटी’ देखिएको छ ।
बिस्तारै बलियो बन्दै गएको चक्रवात बिपरजोय आगामी दिनमा गुजरातको तटीय क्षेत्र नजिक आउनेछ । आँधीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै भारतीय मौसम विज्ञान विभागले गुजरातको तटीय क्षेत्रका माछा मार्नेहरूलाई सावधानीको सल्लाह दिएको छ ।
जुन १५ सम्म पश्चिम–मध्य अरब सागर र जुन १२ देखि १५ सम्म उत्तर अरब सागर र छेउछाउको मध्य अरब सागरमा मत्स्य पालन नगर्न आग्रह गरिएको छ । आगामी चार दिनको पूर्वानुमान अनुसार चक्रवातका कारण गुजरातको तटीय क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
उता भारी वर्षाले पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा घरहरू भत्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्तको बन्नु, लक्की मारवत र कारक जिल्लाहरूमा शनिबार वर्षा र असिनाले क्षति पु¥याएको हो । रुख ढल्दा विद्युतीय प्रसारण टावर ढलेर १४५ जना घाइते भएका छन् ।
“अधिकारीहरूले घाइतेहरूलाई आपतकालीन राहत उपलब्ध गराउन काम गरिरहेको बताएका छन् । गत महिना गर्मीमा असामान्य हिमपातको क्रममा हिमपहिरोमा परी महिला र बालबालिकासहित करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आँधीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।