एजेन्सी,भदौ २०
नेपालमा बनेको पहिलो हलिउड चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।पाँच करोड लगानीमा निर्माण भएको सो चलचित्रको ट्रेलर आईतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा सार्वजनिक गरिएको हो । यो चलचित्र नेपाल र लस–एन्जलसमा छायाङ्कन गरिएको छ ।
थिम पोतिएको पोस्टरमा चलचित्रका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ । निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ चलचित्र रिलिज गर्ने तयारीमा आफूहरू जुटेको बताए ।
यो चलचित्रका निर्माता नकिम उद्दिन हुन् भने निर्देशक पेमा धोन्डुप हुन् । चलचित्रले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । चलचित्र अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपालबाट नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय रहेको छ ।
चलचित्रमा कार्लोस मेडिनाको छायाङ्कन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनि, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी रहेको छ ।