३ असार, एजेन्सी ।
आजदेखि जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सुरु हुँदैछ । जहाँ नेपालले आज नै आफ्नो पहिलो खेल घरेलु टिम जिम्बाब्वेसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र घरेलु टोली जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ ।
जिम्बाब्वेविरुद्ध मैदानमा उत्रँदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक टेस्ट राष्ट्रको सामना गर्नेछ । नेपालले यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि टेस्ट राष्ट्रविरुद्ध खेल्ने अवसर पाएको थिएन । त्यसैले जिम्बाब्वेविरुद्धको खेल नेपालका लागि ऐतिहासक पनि हुनेछ । विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ ।
पछिल्लो समय उच्च लयमा रहँदै सानदार प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ । यसै वर्ष भारतमा हुने विश्वकप प्रतियोगिताका लागि छनोट हुन विश्वका १० टिम यतिबेला जिम्बाव्बे पुगेका छन् । जसमा समूह ए मा नेपाल, जिम्बाब्वे, वेष्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् ।
समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, यूएई र ओमान छन् । समूह चरणको खेलबाट शीर्ष तीनमा रहने टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सबाट शीर्ष दुईमा रहने टिम भारतमा हुने विश्वकपका लागि चयन हुनेछन् । सुपरसिक्समा पुग्ने लक्ष्य लिएको नेपालले दुई खेल जिते सुपरसिक्समा पुग्ने सम्भावना बलियो हुनेछ भने एक खेल जिते अरु खेलको नतिजामा भर पर्नुपर्नेछ ।
नेपाल पछिल्लो समय आफ्नो क्रिकेट इतिहासकै उच्च लयमा छ । एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने भएको छ । नेपालले सानदार प्रदर्शन गर्दै विश्वकपको सुपर सिक्समा स्थान बनाउन टोलीमा भएका कमजोरी सुधार गर्नुपर्ने हुन्छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा खेलेका पछिल्ला तीन सिरिज र प्रिमियर कपमा फिल्डिङमा कमजोर प्रदर्शन गरेको थियो ।
नेपालले थुप्रै खेलमा क्याच र रन आउटको अवसर छाडेको थियो । उक्त समस्या नेपालले सुधार गर्नुपर्ने हुन्छ । अर्कोतर्फ नेपालले ब्याटिङमा राम्रो सुरुवात गर्न सकेको छैन । नेपालले ओपनरमा कुशल भुर्तेल र आसिफ शेखलाई मैदान उतार्दै आएकोछ । नेपालले खेलेका पछिल्ला सबै अन्तर्राष्ट्रिय खेलमा ओपनरले ठूलो साझेदारी गर्न सकेका छैनन् ।
ओपनरले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । कुनै खेलमा कुशल र केहिमा आसिफले ठूला इनिङका साथ जित दिलाएका छन् । जिम्बावे तीव्र गतिका बलर सहयोगी मानिन्छ । नेपालले पहिलो रोजाईमा सोमपाल कामी र करण केसीलाई मैदान उतार्दै आएको छ । तर नेपालले तेस्रो तीव्र गतिका बलर पनि टुङ्गो लगाउन आवश्यक देखिन्छ ।
अकोतर्फ नेपालले पहिला ब्याटिङ गर्दा पनि संघर्ष गर्दै आएको छ । नेपालको लक्ष्य पछ्याउँदा राम्रो गर्दै आएको छ । पहिला ब्याटिङ गर्दा भने संयमित हुन आवश्यक छ । राम्रो फिनिसिङ गर्न पनि त्यतिनै आवश्यक देखिन्छ । यस्तै नेपाली बलरले राम्रो सुरुवात गरेपछि मध्यक्रममा विपक्षी ब्याटरको साझेदारी ब्रेक गर्न सकेका छैन ।
मध्यक्रममा नेपालका स्पिनर सन्दीप लामिछाने बाहेक अन्य बलर विकेट लिन खासै सफल हुन सकेका छैनन् । मध्यक्रममा पनि नेपालले राम्रो विकेट लिन आवश्यक पर्दछ । यस्तै नेपालको ठूलो कमजोरी नै डेथ ओभर हो । नेपालले डेथ ओभर अर्थात ४० देखी ५० ओभर सम्म लगातार खराब प्रदर्शन गर्दै आएको छ । टोलीमा डेथ ओभर स्पेलिष्ट बलर छैनन् ।
नेपालका प्रमुख बलर सोमपाल, करण र सन्दीप तीनैको डेथ ओभरमा सबैले खराब प्रदर्शन गर्दै आएका छन् । त्यसैको कारण नेपालले डेथ ओभर समस्या समाधान गर्नुपर्ने हुन्छ । अन्यथा टेस्ट टोलीले नेपालविरुद्ध चौका र छक्काको वर्षा गराउँदै विशाल योगफल बनाउन सक्छन् ।
यसैबीच युवा कप्तान रोहित पौडेलले पनि नेपालले लामो समयदेखि विश्वकप छनोटका लागि तयारी गरिरहेको तथा यसका लागि नेपालले कडा मेहनत गरेको बताएका छन् । उता जिम्बाब्वेका कप्तान क्रेग इर्भिनले पनि प्रतियोगिताका लागि जिम्बाब्वेको तयारी उत्कृष्ट भएको बताएका छन् ।
नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन २०, वेस्ट इन्डिजविरुद्ध जुन २२ तथा नेदरल्यान्ड्सविरुद्ध जुन २४ मा खेल्ने तालिका रहेको छ । आईसीसीले हिजो प्रतियोगितामा सहभागी सबै टिमका कप्तानहरूले ट्रफीसँगै लिएर खिचेको तस्वीर सार्वजिनक गरेको थियो ।