९ असार, एजेन्सी ।
१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको थियो ।
भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न आज जित्नैपर्ने छ । आजको खेलमा हारको नतिजाले नेपालको आगामी चरणको यात्रा समाप्त हुनेछ । नेपाल समूह ‘ए’ मा छ । भारत साफ च्याम्पियनसिपको साविक विजेता र नेपाल साविक उपविजेता हो ।
साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स छन् । कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा सहभागी छन् । सार्कमा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।
सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।