१० असार,काठमाण्डौ ।
जन्मकैदको फैसलामा राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले संघीय मन्त्रीस्तरको निजी सुरक्षा गार्ड (पीएसओ) को सुविधा दिएको छ । चौधरीको सुरक्षाका लागि सरकारकै निर्देशनमा प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) खटाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कलवापुरमा कार्यरत असई गौरीशंकर चौधरीलाई प्रहरी प्रधान कार्यालयले रेशमको पीएसओमा पठाएको हो । यद्यपी प्रदेश मन्त्रीहरूले समेत पीएसओको रूपमा हवल्दार मात्रै सुविधा पाउने व्यवस्था छ । तर, चौधरीलाई भने संघीयमन्त्री सरह पीएसओको सुविधा दिइएको हो ।
चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ । श्रीमती श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारणमन्त्री छिन् । २०७२ भदौमा आठ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक टीकापुर घटनामा दोषी ठहर भई रेशमले तिनवटै अदालतबाट जन्मकैदको सजाय पाएका थिए ।
तर, १५ जेठमा गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका थिए । राष्ट्रपतिको उक्त कदमको चौतर्फी विरोधसमेत भएको थियो । रेशम चौधरीले भने जेलबाट रिहा भएलगत्तै सत्तारुढ तथा विपक्षी दलका शीर्ष नेताहरुसंग भेटघाट तिव्र बनाएका छन् । उनी आफ्नो राजनीतिक उडान पुनः भर्नका लागि सक्रिय रहेका छन् ।
०८४को निर्वाचनमा पार्टीलाई अझै बलियो बनाउने उनको बताउदै आएका छन् ।जेलमुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा समेत भागबण्डको विषयमा उनले थप आफ्ना अडानहरु राखेर सरकारमाथि दबाब बढाएका छन् । गठबन्धनको सुदूर पश्चिम सरकारमा नागरिक उन्मुक्ति निर्णायक छ । उन्मुक्तिको समर्थनविना त्याहा गठबन्धनको सरकार अल्पमतमा रहेको छ।