१७ असार, काठमाण्डौ ।
केही दिनदेखि लगातारजसो परेको वर्षाका कारण आज देशका ३० भन्दा बढी जिल्लाका खोला÷नदीमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाले बाढी पूर्वानुमान बुलेटिन जारी गरी आज इलाम, झापा, पाचँथर, संखुवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बाराको निजगढ र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा ठूलो पानी परेको र अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढीको चेतावनी दिएको छ । बकैया नदी र त्यस क्षेत्र भइ बग्ने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा डुबान भइरहने होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
यसैगरी आज मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम), स्याङजा, गुल्मी, अर्घाखाँची, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही ससाना नदीमा पनि बहाव बढ्नसक्ने महाशाखाले जनाएको छ ।
र त्यसले जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।
आज हिजो अस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना छैन । तर, एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान भने छ । अहिले वाग्मती, गण्डकी, मधेस र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, राति कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा मेघगजर्नसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।