१७ असार, काठमाण्डौ ।
माग गरे वमोजिमको मन्त्रालय नपाएको उपराष्ट्रपति तथा उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन नपाएको र पछिल्लो समय बजेटलगायतमा असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारीमा रहेका जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुल डाउन गरेका छन् ।
आज सीके राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राउतले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेको बताइएको छ ।
प्रचण्डले जनमतलाई आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर भएपनि सरकारमा समेट्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यो भेटपछि जनतम पार्टी सरकारमा सहभागी हुन सकारात्मक देखिएको छ । जनमतले कृषि वा उद्योग मन्त्रालय पाए उत्कृष्ट काम गर्ने दाबी गर्दै आएको छ । सिकेको माग सम्बोधन गर्न आजै अपराह्न ४ बजे गठबन्धनको बैठक राख्ने तय गरिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
राउतका अनुसार गठबन्धनका केही नेता नमानेकाले जनमतलाई सरकारमा सहभागी गराउने प्रयास सफल भएको छैन । ‘गठबन्धनका केही नेता मानेका छैनन्, त्यही भएर हो, नत्र प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ भन्ने पाएँ’, राउतले भनेका छन् । जनमत सरकारमा सहभागी हुन पाए सरकारलाई दिएको समर्थन यथावत् राख्ने पक्षमा छ ।
‘व्यवस्थापन राम्रो भयो भने सरकारमा सहभागी हुन ठीकै छ, काम गर्ने हो,’ राउतले भनेका छन् । खास गरी मधेस सरकार चलाइरहेको र केन्द्र सरकारमा समेत बलियो शक्ति रहेको जनता समाजवादी पार्टी जनमतपार्टीप्रति अनुदार रहेको छ ।
मंसिरको निर्वाचन हुँदै उपनिर्वाचन र उपराष्ट्रपति निर्वाचनमा यी दुई पार्टीका उम्मेदवार बीच नै मुख्य प्रतिस्पर्धा हुदै आएको थियो । मंसिरमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका सिके राउत उपनिर्वाचनमा भने उपेन्द्रलाई रोक्न असफल भएका थिए । उपेन्द्र बाराबाट निर्वाचित हुदा जनमतका उम्मेदवार पराजित भएका थिए ।