१८ असार, काठमाण्डौ ।
विमानको प्राविधिक परीक्षण गर्नका लागि आइतबार सबै उडान स्थगित गरी ग्राउन्डेड गरिएका श्री एयरलाइन्सका ३ वटा जहाजले मात्रै उडानको अनुमति पाएका छन् । फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमित उडानका लागि अनुमति दिएको हो ।
नागरिक उड्डययन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, विभागले गरेको प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्रीका दुइटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सीआरजे गरी तीन वटा जहाज उडानयोग्य रहेको जनाउँदै विभागले उडान गर्न अनुमति दिएको हो ।
श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान छन् । तीमध्ये पछिल्लो समय चार वटा जहाज उडानमा थिए । ‘शनिबार धनगढीमा हाइड्रोलिकको समस्या देखापरेको र शनिबारै पोखरामा इन्जिन आयल लिक भएको गरी दुइटा जहाजको मर्मत गर्नुपर्ने भएकाले तिनलाई ग्राउडेड नै गरिएको छ,’ सहप्रवक्ता भुलले भने, ‘अहिलेलाई श्रीले आन्तरिक उडानमा दुईटा बमबार्डियर ड्यास क्यू–४०० उडाउने छ । बमबार्डियर सीआरजे चार्टर तथा एयर एम्बुलेन्समा मात्रै उडाइरहेको छ ।’
विभागका अनुसार, अहिले उडानयोग्य भएका जहाजमा सीआरजे अल्फा माइक चार्ली तथा बमबार्डियर ड्यास क्यू–४०० तर्फ अल्फा नोभेम्बर इको र अल्फा नोभेम्बर सेरामात्रै हुन् । श्रीले सोमबार काठमाडौंबाट, पोखरा, नेपालगन्ज,भद्रपुर, भैरहवा, विराटनगर, ३१ वटा उडान तालिकामा राखेको छ ।
शनिबार धनगढी र पोखराका लागि काठमाडौंबाट उडेका जहाजमा प्राविधिक समस्या देखिएपछि श्रीले आइतबार सबै जहाज ग्राउडेड गर्ने निर्णय गर्दै टिकट खरिद गरीसकेका यात्रुसँग माफी मागेको थियो ।