१९ असार, एजेन्सी ।
जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा आयरल्यान्डलाई नेपालले २ सय ६९ रनको लक्ष्य दिएको छ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।
नेपालका लागि गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।
आठौं विकेटका सन्दीप लामिछाने र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे । ओडिआईमा नेपालका लागि आठौं नम्बरको लागि भएको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि आठौं विकेटका लागि दीपेन्द्र ऐरी र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए ।
सन्दीपले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । कप्तान रोहित पौडेलले ३५ बलमा २९ तथा भीम सार्कीले २० रन बनाए । आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २÷२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १÷१ विकेट लिए । नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो ।
आयरल्यान्ड नेपालले ओडिआई खेल्ने तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो । पहिलो ओडिआई भेटमा नै आयरल्यान्डलाई पराजित गर्ने लक्ष्यमा नेपाल रहेको छ ।