२१ असार,एजेन्सी ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायी प्रितम सिंहले पहल गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिब्यक्ति दिएपछि राजनीतिक तरंगित बनिरहेका बेला सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमण गराउने तयारी गरेको खबर बाहिरिएको छ ।
भारतको दिल्लीस्थित भाजपाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा अध्यक्ष जेपी नड्डाले माओवादी केन्द्रका शीर्ष नेताहरूको एक प्रतिनिधिमण्डलले भारत भ्रमण गर्ने जानकारी गराएका हुन् । भाजपा विदेश विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको निमन्त्रणामा निकट भविष्यमै नेपालका माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका छन् ।
विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले बोलाएर आफ्नो पार्टीको गतिविधिबारे जानकारी गराउँदै आएको छ । अध्यक्ष नड्डाले भने, ‘सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहाँ भारतमा बोलाउने गरेका छौँ । त्यसै गरी हाम्रो पार्टीका प्रतिनिधिहरू पनि विभिन्न देशहरूमा जाने गरेका छन् ।
’यसअघि भाजपाको निमन्त्रणामा नै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत वर्ष असार ३१ गते भारत भ्रमण गरेका थिए । त्यसअघि २०७८ असोज २१ गते नेपाल कांग्रेसका नेता एवं वर्तमान अर्थमन्त्री डा.प्रकाशरण महत भारत भ्रमणमा गएका थिए । तीन सदस्यीय प्रतिनिधि मण्डलमा नेता महतसहित अजय चौरसिया र उदयशम्शेर जबरा थिए ।
नेताहरूले दिल्ली, लखनउ तथा वनारसको भ्रमण गरी भाजपालगायत विभिन्न शीर्ष नेताहरूसँग छलफल गरेर फर्केका थिए । त्यसपछि चैतमा भारत भ्रमणमा गएका काँग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भ्रमणमा गएको बेला सुरुमै भाजपाको मुख्यालय पुगेका थिए ।
यसका लागि त्यतिबेला देउवाको आलोचना पनि भएको थियो । सरकारी भ्रमणमा गएका देउवा भाजपाको मुख्यालय जान नहुने टिप्पणी भएको थियो । यसअघि दलका नेताहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले निमन्त्रण गरेर चीनको भ्रमण गराउने गर्थ्यो । पछिल्लो समय त्यसको सिको भाजपाले पनि गरेको छ ।
केही दिन अघि मात्रै माओवादीकै उपाध्यक्ष अग्नि सापकोटासहितको माओवादी नेताहरुले टोली तथा त्यसपछि पछिल्लो समय माओवादी वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली चीन भ्रमणबाट फर्किएको थियो ।
भाजपाले हालसम्म औपचारिक रूपमा माओवादी र कांग्रेसलाई भारतको भ्रमण गराइसकेको छ । तर भाजपाले एमालेलाई अहिलेसम्म भ्रमण नगराएको भएपनि एमाले महासचिव विष्णु पौडेलको निमन्त्रणामा दुई वर्षअघि चौथाईवालेले नेपालको भ्रमण गरिसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय संचारमाध्यामहरुले समेत भारतविरोधी नेताका रुपमा लेख्ने गरेका छन् ।