२२ असार, विराटनगर ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान शपथ लिएका छन् । उनी हिजो बिहीबार प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । थापालाई आज प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आफूले शपथ लिएलगत्तै मुख्यमन्त्री थापाले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन् ।
पहिलो चरणमा उनले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट एक–एकजनालाई मन्त्री बनाएका हुन् । एकीकृत समाजवादीबाट कमल जबेगु र कांग्रेसबाट प्रदीप सुनार मन्त्री बनेका हुन् । तर उनीहरुको मन्त्रालय तोकिएको छैन । खासमा तीन जना मन्त्री नियुक्त गरेर प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिने मुख्यमन्त्री थापाको तयारी थियो ।
तर मन्त्रीका लागि माओवादीमा विवाद भएपछि थापाले मुख्यमन्त्रीमा निर्धारित समयभन्दा एक घन्टा ढिलो शपथ ग्रहण गरेमा थिए । माओवादीले मन्त्रीका लागि नाम सिफारिस नगर्नुका साथै शपथ ग्रहण कार्यक्रममा उपस्थित भएन । माओेवादी केन्द्रका जीवन आचार्यलाई मन्त्री नियुक्त गरी शपथ ग्रहणको तयारीमा रहेका बेला माओवादीमा विवाद चर्केकोले शपथ ग्रहणमा उपस्थित नभएको एक प्रदेश सांसदले बताए ।
माओेवादीका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ हुन् । यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री भएको भन्दै अन्य सांसदहरूले विरोध गरेमा थिए । यस्तै नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धनमा रहेका प्रत्येक दलबाट एक–एक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरी शपथ ग्रहण गर्ने तयारी गरेका थिए ।
तर जनता समाजवादी पार्टीले पनि पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएपछि दुई जना मन्त्रीसहित तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । कांग्रेस प्रदेश संसदीय दलका नेता थापा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा बिहीबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत नै चाहिन्छ । थापा कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गरेर मुख्यमन्त्री बनेका हुन् ।
संविधानविद्हरुले समेत तटस्थ रहनु पर्ने सभामुखलाई सरकार निर्माणमा असंवैधानिक तवरले लगाइएको भन्दै आलोचना गरिरहेका छन् । नेकपा एमालेले यसमा विरोध जनाउँदै सभामुखको हस्ताक्षरससहित मुख्यमन्त्रीमा दाबी गरिएकोमा त्यो स्वीकार नगर्न प्रदेश प्रमुखलाई पत्र नै पठाएको थियो ।
एमाले संसदीय दलले संवैधानिक व्यवस्था विपरीत प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेकोविरूद्ध अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने तयारी गरेको छ । यसअघि कोशीमा एमाले नेतृत्वको सरकार विश्वासको मत पाउन नसकी ढलेको थियो ।