२२ असार, विराटनगर ।
गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका एक दर्जन स्वतन्त्र जनप्रतिनिधि मध्ये एक वर्षको अवधिमा जनतामाझ चर्चाको शिखरमा रहेका दुई मेयर हुन् काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह वालेन र धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई । संजोक मात्रै हो निर्वाचनमा दुवैको चुनाव चिन्ह थियो लौरो ।
त्यस बाहेक कुनै ब्यक्तिगत र राजनीतिक सम्बन्धमा नजोडिएका दुवै युवाहरुले निर्वाचनमा जनताको अपार मत पाएर मेयर पद सम्हालिरहेका छन् । मेयरको कार्यकाल सम्हालेको एकपछि वितिसकेको अवस्थामा सुरुवातका दिनमा कामको लय समात्दै गर्दा यी दुईबीच सामाजिक संजालमा लामो जुहारी नै चल्यो ।
एकले अर्कालाई जनताको पक्षमा काम गर्ने सवालमा आफूलाई एकअर्काभन्दा अब्बल सावित गर्न खोजे । काठमाडौंमा फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै बालेनप्रति तिखो टिप्पणी गर्ने हर्क र सोही वमोजिमको हैैसियत सामाजिक संजालमा हर्कलाई देखाइदिएका बालेन अहिले देखिएका यी दुई जनप्रतिनिधि अहिले एकअर्काको आडभरोसा र दुःख सुखको साथी बनेका छन् ।
पछिल्लो समय धरान उमहानगरपालिकाका मेयर हर्क साम्पाङले विदेशीले बनाएको प्रधानमन्त्रीबाट ’आशा गर्न नसकिने’ भन्दै बालेनलाई साथ दिएका छन् । बिहीबार राति ट्विटरमा काठमाडौं महानगरका मेयर बालेन शाहको पोस्टमा प्रतिक्रिया जनाउँदै हर्कले लेखेका छन्,“करोडौँ बुझाएर बनेका सांसद र विदेशीले बनाएको प्रधानमन्त्रीबाट के नै आशा गर्नु र ?“ निरन्तर नेताहरूबारे खरो टिप्पणी गर्दै आएका बालेनले ’भारतीय गुलाम’ले देश चलाइरहेको बताएका छन् ।
उनले आफूलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको पनि बताएका छन् । “दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरूले देश चलाउँदै छ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरू हुन् ?,“ बालेनले भनेका छन् ।
यसअघि हर्कले फेसबुकमा एक स्टाटस लेख्दै आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाइको गुनासो गरेका थिए । यसमा बालेनले हर्कलाई सान्त्वना दिएका थिए । हर्कले उनले फेसबुकमा भनेका थिए , ‘पसिनाको भेल बगाए अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ ।
दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु ।’ उनको आशय थियो । आफूले श्रमदान गरेरै पानी पूर्ति गरे पनि दलहरूका नेताहरूले स्याबासी दिनुको साटो उल्टै मुद्दा हालेर दुःख दिए भन्ने । मेयर हर्कको सोही स्टाटसमा सान्त्वना प्रदान मेयर बालेनले दुःखमा आफू साथमा रहेको बताएका छन् ।
उनले कमेन्टमा भनेका थिए्, केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर केही फरक पर्दैन । तपाईँ अगाडि पुगिसक्नु भो कि । पछाडि जसले जे बोले पनि फरक पर्दैन ।’ उनले अगाडि लेखेका छन्, ‘सुखमा सबै साथमा भएपनि दुःखमा हामी छौँ । म छु । सबै हुनेछौँ । धरानमा खानेपानीको प्रवन्ध गर्न दुई महिना अघि काठमाडौं पुगेका हर्कले बालेनलाई भेटेका थिए । सो क्रममा दुईजनाले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरेका थिए ।