२२ असार,एजेन्सी ।
विश्व चर्चित लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी–२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र दीपेन्द्र यस पटक इमर्जिङ टिम्स एसिया कपमा हुने छैनन् । जिम्बाव्वेमा क्रिकेट विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि कप्तान रोहितले दुई खेलाडी इमर्जिङ कप नखेल्ने बताएका हुन् ।
रोहितले अरु खेलाडीलाई अवसर दिने बताए । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । ग्लोबल टी–२० क्यानडा लिग जुलाई २० देखि अगष्ट ६ सम्म हुनेछ । जसमा नेपालबाट सन्दीप र दीपेन्द्र छनोट भएका छन् । पहिलो पटक विदेशी लिगका लागि छनोट भएका दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको हो ।
यसअघि दुई पटक क्यानडामा लिग खेलिसकेका सन्दीप यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन् । गतवर्ष भदौमा बलात्कार आरोप लागेपछि सन्दीप पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् । यता इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्नेछन् ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ ।
नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ । नेपालले इमर्जिङ टिम्सको लागि छिटै टोली घोषणा गर्ने क्यानले जनाएको छ । केही युवा खेलाडीलाई मौका दिनसक्ने अनुमान गरिएको छ ।