२३ असार,काठमाण्डौ ।
कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ ।
चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए । बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ ।
महतले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पनि जानकारी दिए । नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको महतले बताए । अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा टङ्कप्रसाद आचार्यले जानकारी दिए ।
शुक्रबार १९४ महिला र ११७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको आचार्यले बताएका छन् । उनकाअनुसार उपचार गर्न आउने २०६ जना १५ वर्षमुनिका छन् । सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा आचार्यको भनाई छ ।