२७ असार ,काठमाण्डौ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । एक वर्षपछि आजबाट सुरु हुने भनिएको बैठक अन्तिम समयमा आएर सारिएको हो । विधान सम्मत कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हुन्छ । तर लामो समयदेखि बैठक बसेको थिएन ।
पार्टीका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पौडेलले अब बैठक साउन २ गते बस्ने जानकारी दिएका छन् । पार्टी महामन्त्री विश्वप्रकाश शर्माले बैठकका विषयमा थप गृहकार्य आवश्यक भएकाले बैठक सारिएको जानकारी दिए ।
“सधैँ सभापति र महामन्त्री बसेर एजेन्डा सेट हुन्थ्यो । यसपटक उपसभापति र सहमहामन्त्री पनि बसेर छलफल भए र २ दिन अरू सार्ने कुरा भयो,” शर्माले भने, “२९ र ३० संसद् हुन सक्छ । साउन मसान्त पनि भएन त्यसकारण २ गते पु¥याइएको हो ।”
शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पत्नी सीता दाहालको निधनका कारण भने बैठक नसारिएको पनि बताए । कांग्रेसले गएको वर्ष साउन २७ गते केन्द्रीय समिति बैठक राखेको थियो । त्यसपछि पटकपटक बैठक बोलाउँदै बैठक सार्ने गरिएको थियो ।
यसबीचमा कांग्रेसले कुनै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गर्दै आएको थियो । आज बस्ने भनिएको बैठकमा केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी गरेका थिए ।
खाँणको निलम्बनको विषयलाई छलफलको एजेण्डा नबनाउने प्रयत्न हुनसक्ने भए पनि यो विषयलाई उठाइने नेताहरुले बताएका थिए । तर बैठक नै सरेपछि खाँणको निलम्बनको विषय पनि हाललाई टरेको छ ।