२९ असार, एजेन्सी ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएका विश्वि चर्चित अर्जेन्टाइन स्टार फुटबलर लियोनल मेसी अहिले अमेरिका पुगेका छन्। अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएपछि परिवारसहित अमेरिका पुगेका मेसीलाई आइतबार क्लबले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
त्यसका लागि क्लबले मेसीका पोस्टर राख्दै भव्य सजावट समेत गरेको छ। अमेरिकी शहरहरुमा मेसीका पोस्टरहरु राखिएका छन् । क्लबले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरिरहेका बेला मेसी भने अचानक एक सुपरमार्केटमा देखा परेका छन्। सुपरमार्केटमा पुगेर मेसीले खाद्यन्न सामाग्री किनेका फोटाहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
बिहीबार राति उनी फ्लोरिडाको सबैभन्दा ठूलो चेन पब्लिक्स सुपरमार्केटमा खाद्यान्न सामाग्रीहरु खरिद गर्न पुगेका थिए। उनी आफैंले ट्रली गुडाउँदै सामान किनेको फोटाहरु अहिले सञ्जालमा भाइरल भएका छन्। एक सर्वसाधारण जसरी सुपरस्टार खेलाडी सुपरमार्केट पुगेपछि उनलाई देख्नेहरुले अचम्म मानेका थिए। कतिपयले मेसीको अटोग्राफ लिनेदेखि उनीसँग तस्बिर समेत खिचेका थिए।
७ पटकको बालोन डीओर विजेता मेसी वार्षिक ५४ मिलियन डलरमा सम्झौता गर्दै आफ्नी श्रीमती एन्टोलेना र ३ छोरा थियायो (१०), माटेओ (७) र सिरोस (५)सँगै गत मंगलबार मियामी पुगेका थिए। उनले मियामीमा घर समेत किनिसकेका छन् ।
बुधबार मात्रै मियामी बिचमा पारिवारिक डिनरमा भेटिएका थिए। डिनर गरेर बाहिर निस्किँदै गरेका बेला एक फ्यानले मेसीलाई चुम्बन समेत गरेका थिए। बार्सिलोना लेजेन्डले पोर्श डिजाइन टावरमा एउटा अपार्टमेन्ट समेत किनिसकेका छन् । जहाँबाट मियामी तटको सहजै दृश्यावलोकन गर्न सकिन्छ ।