१९ साउन ,काठमाडौं ।
दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ । पहिरोमा पुरिएर तीनजना अझै बेपत्ता छन् । सोही पहिरोमा परी तीनजना घाइते भएका छन् । पहिरोमा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डीएसपी दीपक खड्काले बताएका छन् ।
उनका अनुसार गौरीशंकर गाउँपालिका–७, टोपाटारमा पहिरोमा पुरिएर शिशुको मृत्यु, तीनजना बेपत्ता र तीन घाइते भएका हुन् । बिहीबार साँझ गएको पहिरोमा स्थानीय करिब ५५ वर्षीय कृष्णबहादुर मगर, उनकै श्रीमती देवी मगर, अर्का वृद्ध हरिलाल श्रेष्ठ र बालक प्रिन्स थामी बेपत्ता भएकामा बालकको मृत्यु भएको छ ।
स्थानीय यज्ञ थामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सरिता थामी घाइते भएका हुन्। उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं लगिदैछ । उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहीबार साँझ खारेतर्फको भीरबाट बस्तीमा पहिरो झरेको थियो । पहिरोले बस्तीका ५ घर पुरेको मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले जानकारी दिएका छन् ।
गौरीशंकर–८ बाट खसेको पहिरोले टोपाटारमा क्षति गरेको डीएसपी खड्काले बताएका छन् । घटना गए रातिको भएको र टेलिफोन सम्पर्कविच्छेद भएका कारण आफूहरूले बिहान मात्र सूचना पाएको उनले बताएका छन् । सूचना पाएपछि उद्धारकार्यमा खटिएको उनले बताएका छन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली उद्धारकार्यमा खटिएका छन् ।
यसैबीच विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेकाले आज केही जिल्लामा बाढीको जोखिम रहेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज र भोलि देशका अधिकांश नदीहरूको बहाव सामान्य अवस्थामा रहने महाशाखाले जनाएको छ । साउन २१ गतेदेखि देशका अधिकांश नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ । २१ गते (आइतबार) देखि नदी तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ ।