२० साउन, एजेन्सी ।
भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली हुने भएको छ । शुक्रबार सर्वोच्च अदालतले उनीमाथि लगाइएको सजायमाथि रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली हुने भएको हो । मोदी थर प्रकरणमा राहुललाई सुरतस्थित तल्लो अदालतले दोषी ठह¥याउँदै दुई वर्षको सजाय तोकेको थियो ।
सन् २०१९ को चुनावी सभामा सबै चोरको थर मोदी नै किन हुन्छ ? भन्दै गरेको भाषणका कारण गान्धीमाथि मुद्दा परेको थियो । चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी देखिएपछि संसद सचिवालयले उनको पद खारेज गरेको थियो । भारतमा दुई वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ ।
यस्तै भारतको गुजरात उच्च अदालतले पनि गान्धीको पुनरावेदन खारेज गरेको थियो । त्यसपछि गान्धी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चका न्यायाधीश जस्टिस् बिआर गवई, पीएस नरसिम्हा र संजय कुमारको संयुक्त इजलाशले राहुललाई दिएको सजायमाथि रोक लगाएको हो ।
पीटीआईका अनुसार अधिकतम सजाय तोक्नै कुनै कारण नभएको र यस मामिलामा अन्तिम फैसला नआएसम्म यसअघिका सबै फैसलामाथि रोक लगाएको हो । सर्वोच्चको आदेशपछि राहुल गान्धीले सत्यको जीत भएको बताएका छन् । उनले आज नभए भोलि, भोलि नभए पर्सी सत्यकै जित हुने उल्लेख गरेका छन् ।
यससंगै अब मनसुन सत्रकै दौरान राहुल गान्धी सदनमा फर्किने चर्चा सुरु भएको छ । उनी ८ देखि १० तारिखमा मोदी सरकारविरुद्ध सदनमा विपक्षीले पेश गरेको अविश्वासको प्रस्तावको बहसमा सहभागि हुने पनि कँग्रेसका नेताहरुले बताएका छन् । तर राहुलको सदनमा फिर्ती त्यति सहज नहुने पनि एकथरिको बुझाई छ ।
किनभने सत्तारुढ भाजपा त्यो चाहादैन । जसरी समय कति पनि खेर नफाली राहुललाई सदनबाट हटाइएको थियो, उनी सरकारी निवासबाट निकालिए, त्यो हेर्दा उनको सदनमा सोही रफ्तारमा फिर्ता हुने सम्भावना कम देखिएको विश्लेषकहरु बताउँछन् ।