सरकार र महावीरबीच वार, लिलामी गर्न नदिए मेडल फिर्ता

सरकार र महावीरबीच वार, लिलामी गर्न नदिए मेडल फिर्ता

२४ साउन, काठमाण्डौ ।
बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्नका लागि सरकारबाट अपेक्षित सहयोग नपाएपछि आफुले पाएका मेडल लिलामीमा राखेका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले सरकारले दिएका मेडल सरकारलाई नै फिर्ता गरिदिने भएका छन् ।

सरकारले मेडल लिलामीमा नराख्न सचेत गराएपछि पुनले कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यबाद भन्दै मेडल फिर्ता गर्ने जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, नेपाल सरकारले बि.स. २०६८ मा दिएको पदक सहित मैले प्राप्त गरेको अन्य अन्तराष्ट्रिय पदकहरु बेचेर त्यसको पैसा बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्न भनेर मैले आलोक सुबेदी भाईलाई बिक्रीमा राख्न जिम्मा दिएको थिएँ ।

उनले रुटिन अफ नेपाल बन्द सहित अन्य अनलाइन मिडियाहरुमा लिलाम बिक्रीमा राख्न लगाएका थिए । गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु ।

कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ । उनले थप प्रष्टपार्दै लेखेका छन्, तर अन्तराष्ट्रिय मेडलहरु भने मज्जाले बेच्न पाइन्छ ।

त्यसो गर्न ति मेडलहरु दिने संस्थाहरुले नेपालको गृह मन्त्रालयले जस्तै कुनै रोकटोक लगाएका छैनन् । जे सुकै होस्, पछि हटिन्न । जोड लगाके अगाडी बढिन्छ, किन भने यस्तो घटनाले झनै उर्जा थपी दिन्छ । धन्न बचियो गाँठे, धन्यबाद । विभूषण लिलामीमा राख्नु गैरकानूनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र गृहले पुनलाई पठाएको छ ।

गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै गृहमन्त्रालयले सोमबार सूचना जारी गरेको थियो । साथै मंगलबार पुनलाई पत्राचार गरेर सचेत गराइएको हो ।

पुनले प्राप्त गरेको द रामोन म्यागासेसे पुरस्कारको सुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ । यस्तै, डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कारको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ । इन्टरनेट हल अफ फेम २०१४ को सुरुआती मूल्य सात हजार ५०० अमेरिकी डलर तोकिएको छ।

यस्तै, राष्ट्रदीप पदकको मूल्य दुई हजार ५०० अमेरिकी डलर र युनिभर्सिटी अफ नेब्रास्का अनर ग्राज्युएड अवार्डको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ । महावीर नेतृत्वको आविष्कार केन्द्रले सरकारसँग सम्झौता गरेरै कृषि औजार कारखाना संचालनको स्वामित्व लिएको छ ।

तर सरकारले सहमतिवमोजिक केन्द्रलाई गर्नुपर्ने सहयोग भने नगरेको पुनले गुनासो गर्दै आएका छन् । केन्द्रले ३० वर्षदेखि बन्द रहेको कारखानालाई संचालनमा ल्याएर नमुनाका रुपमा केही कृषि औजारहरु निमार्ण गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.