२८ साउन, एजेन्सी ।
पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासारले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ । शनिबार राति किङ पद स्टेडियममा भएको फाइनलमा अल नासारले अतिरिक्त समयमा अल हिलालविरुद्ध २–१ को कठिन जित हासिल गर्दै उपाधि हात पारेको हो ।
च्याम्पियन अल नासारको जितमा कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलले गरेको गोल सान्त्वना बन्न पुग्यो । खेलको ५१औं मिनेटमा माइकलको गोलमा अल हिलाले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो । खेलको ७०औं मिनेटमा अल नासार १० खेलाडीमा समेटिएको थियो ।
अब्दुल्लाह अल एम्रीले सिधै रातो कार्ड खाँदै मैदान छाडेका थिए । खेलको ७४औं मिनेटमा रोनाल्डोको गोलमा अल नासार खेलमा फर्किएको थियो । जितका लागि सर्घष गरिरहेको अल नासारका वैकल्पिक खेलाडी नवाफ बौसल पनि रातो कार्ड खाँदै मैदान छाडेपछि टोली दबाबमा परेको थियो ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा रोनाल्डोले गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए । त्यसको केही समयपछि चोटका कारण रोनाल्डोले मैदान छाडेका थिए ।
रोनाल्डोले समूह चरण बाहेकका सबै खेलमा गोल गरेका छन् । अल नासारले सन् २०२१ को डिसेम्बरपछि पहिलोपटक अन हिलाललाई हराएको हो । रोनाल्डोको कप्तानीमा रहेको अल नासारले साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमा सोमबार अल इटिफकसँग खेल्नेछ ।