२९ साउन, एजेन्सी ।
विश्व चर्चित फुटबलरहरुको हब बन्दै गएको खाडी राष्ट्र साउदी अरबमा अब ब्राजिलियन स्टार नेयमार पनि जाने तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । अर्जेन्टिनी स्टार मेसी, फ्रान्सेली स्टार एम्बाप्पेलाई भित्र्याउन प्रयास विफल भएपनि हार नमानेको साउदी क्लब अल हिलालले नेयमारलाई भित्र्याउने अन्तिम तयारी गरेको छ ।
गोल डटकमका अनुसार नेयमार र साउदी क्लब अल हिलालबीच सहमति भएको छ। नेयमार हाल फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध छन् । उनलाई अन्य क्लबमा जान दबाब बढाउँदै पीएसजीले नेयमारलाई सिजनको पहिलो खेलमा मैदान उतारेको थिएन ।यसअघि अल हिलालले गरेको प्रस्ताव पीएसजीले स्विकारिसकेको छ ।
यसअघि पीएसजीले सन् २०१७ मा नेयमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्य तिरेर भित्र्याएको थियो । ३१ वर्षीय नेयमार गत मार्चयता मैदान उत्रिएका छैनन्। यसबीचमा उनले गोलिगाँठा लिगामेन्टको शल्यक्रिया गरेका थिए । गत वर्ष क्रिस्टियानो रोनाल्डो अल नासरमा आबद्ध भएपछि युरोपमा खेलिरहेका विश्व चर्चित खेलाडीको आकर्षण साउदी क्लब फुटबलमा देखिएको छ ।
रोनाल्डोले नासरलाई उपाधि समेत जिताइसकेका छन् । क्लबलाई उपाधि दिलाउने उनले धेरै खेलमा निर्णायक गोल गरेका थिए । यस्तैसेडियो माने, करि बेन्जेमा, फिरमिनोसहित थुप्रै विश्व चर्चित खेलाडीहरू यसबीचमा साउदी अरबको प्रो लिगका लागि आबद्ध भइसकेका छन् । खेलाडीहरुको साउदी मोहले फुटबलमा युरोपेली क्लबको दबदबा अब अनत्य हुने देखिदै आएको छ ।
साउदीले हरेकजसो खेलाडीहरुलाई कीर्तिमानी मूल्यमा भित्र्याउदै आएको छ । यसअघि मेसी र एम्पाप्पेलाई पनि कीर्तिमानी मूल्य अफर गरिएको थियो । जसमा मेसीले अस्वीकार गरेर अमेरिका पुगिसकेका छन् भने एम्बाप्पे पीएसजीसँगको असमझदारी अन्त्य गर्दै केहीदिनको असन्तुष्टिपछि प्रशिक्षणमा फर्किसकेका छन् ।
हिलालले केलियन एमबाप्पेका लागि २५९ मिलियनको विश्व कीर्तिमानी प्रस्ताव गरेको थियो । तरपनि एम्वाप्पेले पीएसजीसँगको खराब सम्बन्धको बाबजुद पनि यो प्रस्ताव अस्वीकार गरेका थिए । एम्बाप्पेको पीएसजीसँग अझै एक वर्षको सम्झौता रहेको छ ।
नेयमार भने यसअघि आफ्नो पूर्व क्लब बार्सिलोनामा पनि फर्किन सक्ने चर्चा चलेको थियो । नेयमारले पीएसजीका लागि १ सय ७३ खेलमा ११८ गोल गरिसकेका छन् । यसअघि वार्सिलोनामा उनले १८६ खेलमा १०५ गोल गरेका थिए । उनले पूर्वक्लब सान्टोसका लागि १३६ र ब्राजिलको राष्ट्रिय टिमबाट ७७ गोल गरिसकेका छन् ।