८ भदौ ,एजेन्सी ।
चन्द्रमामा आफ्नो महत्वकाक्षी मिसन चन्द्रयान ३ अन्तरिक्ष यानलाई पहिलो पटक दक्षिण धुव्रमा अवतरण गराएर इतिहास रचेको भारतले चन्द्र धरातलमा चन्द्रयान हिडेको भिडिओ सार्वजनिक गरेको छ । भारतको अन्तरिक्ष एजेन्सी (इसरो)ले पहिलो पटक चन्द्रयान–३ को रोभर चन्द्रमामा हिँडेको भिडियो सार्वजनिक गरेको हो । भिडिओमा प्रज्ञान रोभर ल्यान्डरबाट बाहिर निस्किएर चन्द्रमाको सतहमा पाइला चालेको देख्न सकिन्छ।
रोभर प्रज्ञानलाई बोकेको विक्रम ल्यान्डर बुधबार साँझ भारतीय समय अनुसार ६ बजेर ४ मिनेटमा योजनाअनुसार सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको थियो । सोभियत संघ, अमेरिका र चीनपछि चन्द्रमामा सफ्ट ल्यान्डिङ यान अवतरण गराउने भारत चौथो देश बनेको थियो । बिहीबार भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले २६ किलोग्रामको रोभर ल्यान्डरबाट झर्दै भारतले चन्द्रमामा हिँडेको भनेको छ ।
शुक्रबार बिहानको भिडियोले रोभरलाई घामको किरण र यसको लामो छायामा सहित बाहिर हिँडेको देखिन्छ । प्रज्ञान नामक रोभरको तौल २६ किलोग्राम छ । संस्कृत शब्द प्रज्ञानको अर्थ विवेक वा बुद्धि भन्ने हुन्छ । उक्त रोभरलाई विक्रम ल्यान्डरभित्र राखेर लगिएको थियो । बुधवार साँझ अवतरणका क्रममा उडेको धुलो कम भएपछि विक्रमको एकापट्टि भएको ढोका खुलेको थियो ।
उक्त ढोकाबाट प्रज्ञानलाई चन्द्रमाको सतहमा ओराल्न बनाइएको भ¥याङ बाहिर निस्किएको थियो र त्यसबाट प्रज्ञान चन्द्र सतहमा ओर्लिएको थियो । त्यहाँको चट्टानी र ठूला खाडलहरू भएको सतहमा घुमेर उक्त रोभरले महत्त्वपूर्ण तथ्याङ्क र तस्बिरहरू विश्लेषणका लागि पृथ्वीमा पठाउने छ ।
प्रज्ञानमा जडान गरिएका दुईवटा वैज्ञानिक उपकरणहरूले चन्द्र सतहमा उपलब्ध खनिजहरूका प्रकारहरू पत्ता लगाउनुका साथै त्यहाँ रहेको माटोको रासायनिक संरचनाबारे अध्ययन गर्ने छ । प्रज्ञानको सूचना आदानप्रदान ल्यान्डरसँग मात्रै हुन्छ । ल्यान्डरले चन्द्रयान–२ ले यसअघिनै छोडेको अर्बिटरमा सूचना पठाउँछ ।
अझै पनि चन्द्रमालाई परिक्रमा गरिरहेको चन्द्रयान–२ ले उक्त सूचना विश्लेषणका लागि पृथ्वीमा पठाउँछ । भारतको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार उक्त रोभर एक सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा हिँडडुल गर्न सक्छ । आफ्नो प्रत्येक चालमा रोभरले आफ्ना छवटा चक्कामा जडान गरिएको इसरोको लोगो र प्रतीक चिह्न माटोमा बनाउने छ ।
चन्द्रमामा एक दिन बराबर पृथ्वीमा २८ दिन हुन्छ । ल्यान्डरले अन्य कैयौँ वैज्ञानिक उपकरणहरू पनि लिएर गएको छ। ती उपकरणले चन्द्रमाको सतहमा, त्यसभन्दा मुनीको भागमा र सतहमाथि के हुन्छ भन्ने पत्ता लगायत सहयोग गर्छन् । चन्द्रमामा महत्त्वपूर्ण खनिजहरू भएको विश्वास गरिन्छ । तर चन्द्रयान–३ को प्रमुख उद्देश्य पानीको खोजी गर्नु रहेको छ ।