अमेरिकी लिगमा डेब्यू खेलमै मेसीको गोल

१० भदौ, एजेन्सी ।
अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले ११ खेलपछि जित हात पारेको छ। आज भएको खलमा मियामीले एनवाई रेड बुल्सलाई २–० गोलले पराजित ग¥यो। यसअघि लिग्स कप र युएस ओपन खेलेका अर्जेन्टाइन सुपरस्टार लिओनल मेसीले आजको खेलमार्फत् अमेरिकी लिगमा डेब्यू गरेका छन् ।

डेब्यू खेलमै गोल गर्ने क्रममा मेसीले खेलको ८९ मिनेटमा टिमको अग्रता दोब्बर पारेका थिए। त्यसअघि मियामीका लागि डिएगो गोमेजले खेलको ३७ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमा बेञ्चमा बसेका मेसी दोस्रो हाफको ६०औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि टोलीका लागि गोल गरेका हुन् ।

उनले जोर्डी अल्बाको कलात्मक पासमा गोल गरेका थिए । अल्बा र मेसीले लामो समय बार्सिलोनाबाट एकसाथ ब्यवसायीक फुटबल खेलेका थिए । त्यसअघि इन्टर मियामीले पहिलो हाफमै अग्रता लिएको थियो । मेसीकै उत्कृष्ट प्रदर्शनमा यसअघि इन्टर मियामीले लिग्स कपको उपाधि चुमेको थियो । इन्टर मियामीले जितेको त्यो एतिहासिक उपाधि थियो ।

त्यसअघि इन्टर मियामीले कुनै पनि उपाधि जित्न सकेको थिएन । इन्टर मियामी यो सिजन यूएस ओपनको फाइनलमा पनि पुगेको छ । न्यू योर्क रेड बुल्सविरुद्घको खेलको पहिलो हाफमा इन्टर मियामीका प्रशिक्षक जेरार्ड ‘टाटा’ मार्टिनोले मेस्सीलाई आराम दिएका थिए । प्रशिक्षक मार्टिनोले दोस्रो हाफमा मेस्सीसँगै सर्जियो बुस्केट्सलाई पनि मैदानमा प्रवेश गराएका थिए ।

अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि चुमाउने कप्तान मेसी र स्पेनिस मिडफिल्डर बुस्केट्सले लामो समय बार्सिलोनाबाट एकसाथ ब्यवसायीक फुटबल खेलेका थिए । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा १५ वर्ष बिताएका ३५ वर्षीय बुस्केट्स आफ्ना मित्र मेस्सीलाई पछ्याउँदै यही सिजन इन्टर मियामीमा आबद्ध भएका हुन् ।

सातपटकका बालोन डी’ओर विजेता मेसीले इन्टर मियामीका लागि गरेको गोल सँख्या भने ११ पुगेको छ । इन्टर मियामीका लागि आफूले खेलेका हरेकजसो खेलमा मेसीले गोल गरेका छन् । ‘उनी अद्भूत खेलाडी हुन् । हरेक खेलमा उनी कुनै न कुनै नयाँ प्रयोग गरिरहेका हुन्छन्,’ इन्टर मियामीमा १९ वर्षीय डिफेन्डर नोआह एलनले भनेका छन् ।

यसअघि लगातार ११ खेलमा पराजित भएको मियामीलाई आजको जितले राहत दिएको छ। टिममा मेसी आएपछि मियाले कुनै पनि खेलमा हार बेहोर्नु परेको छैन। लिगको वेस्टर्नतर्फको अंक तालिकामा मायमी १५ क्लब मध्ये १४ औं स्थानमा छ। आजको जितले १४औं स्थानमा उक्लिएको उसले २३ खेलबाट २१ अंक जोडेको छ।