१० भदौ , एजेन्सी ।
अष्ट्रेलियाको उत्तरी तटमा २० समुद्री सेना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले डार्विनबाट ६० किलोमिटर टाढा मेलभिल टापु नजिकै अमेरिकी सैन्य हेलिकोप्टर ओस्प्रे भी–२२ दुर्घटना भएको र त्यहाँबाट धेरैको उद्धार गरिएको जनाएको छ ।
अस्ट्रेलिया, अमेरिका, पूर्वी टिमोर, इन्डोनेसिया र फिलिपिन्सका सेना संलग्न रहेको वार्षिक ‘प्रिडेटर रन’ अभ्यासका क्रममा दुर्घटना भएको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । अस्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ)ले ओस्प्रे–२२ मा कुनै पनि अष्ट्रेलियाली कर्मचारी नरहेको बताएको छ । एडीएफले एक विज्ञप्ति जारी गर्दै अहिले उद्धारमा केन्द्रित रहेको जनाएको छ ।
यसैबीच अमेरिकामै एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् । फ्लोरिडामा एक व्यक्तिले एक पसलमा तीन जना व्यक्तिको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली चलाएका स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मुखमा मास्क लगाएर गोली चलाउने व्यक्ति २० वर्षका थिए ।
गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ । दुई जना पुरुष र एक महिलामाथि गोली चलाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । लगत्तै उनले आफैँमाथि गोली चलाएका हुन् । उता सुडानको राजधानी खार्तुममा शनिवार ठूलो बिष्फोट भएको छ ।
विमानस्थल, राष्ट्रपति भवन, सुडानी सशस्त्र बल (एसएएफ) को मुख्यालय लगायतका क्षेत्रमा आसपासमा बिष्फोट भएको हो । एक प्रत्यक्षदर्शीले नाम नखुलाउने शर्तमा बिष्फोट खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको जेट इन्धन भण्डारमा भएको थियो । त्यस्तै अर्का प्रत्यक्षदर्शीका अनुसार राष्ट्रपति भवन नजिकै बिष्फोट भएको हो । र यकिन ठाउँ भने उल्लेख गरिएको छैन ।
सुडानमा १५ अप्रिलदेखि एसएएफ र आरएसएफ बीच सशस्त्र झडप जारी छ । जसमा ३ हजार बढीको मृत्यु भइसकेको भने भने ६ हजार बढी घाइते छन् । त्यस्तै ४ मिलियन भन्दा बढी मानिसहरु आफ्नो घर छोडेर भागेका छन् भने ३.२ मिलिय मानिस आन्तरिक रुपमा बिस्थपित भएका छन् । घटनाको कारण र क्षतिबारे तथ्यांक आइसकेको छैन ।