१४ भदौ, काठमाण्डौ ।
उत्तरको छिमेकी चीन सरकारले नयाँ नक्सा जारी गरेको छ । अगस्ट २१ मा प्राकृतिक स्रोत मन्त्रालयले प्रकाशित गरेको ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’मा नेपालको पूरानै बुच्चे नक्सा देखाईएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कडा आपत्ति जनाउँदै आफ्नो आजदेखि तय भएको चीन भ्रमण स्थगित गरेका छन् ।
चीनको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपु लेक र लिम्पियाधुरा नसमेटिएको पूरानै बुच्चेनक्सा समावेश गरेपछि बालेनले चीन भ्रमण स्थगित गरेका हुन् । उनले भनेका छन्, हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । उनले भनेका छन्, त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।
यसअघि भारतले अखण्ड भारतको नाममा संसद भवनमा नेपालका भूभागहरु समेटिएको भित्रे चित्र राखेपछि बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा झुन्ड्याएका थिए । चीनको नयाँ नक्साका विषयमा सरकारले भने कुट्नैतिक च्यानबाट चीनसँग संवाद गर्ने बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले प्रतिक्रिया दिएकी छिन्।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताइन्। “यसमा कूटनीतिक ढङ्गले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ, यो नक्सामा देशकै सर्वसम्मत छ”, उनले भनिन्, “चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी ग¥यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ।”
चीनले नयाँ नक्सामा यसअघि झैँ अरुणाचल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण रुपले चीनको भूगोलभित्र समेटिएको छ । त्यसैगरी, पुराना संस्करणहरुमा झैँ दक्षिण चीन सागरको समग्र क्षेत्र पनि चीनभित्र देखाइएको छ । जसलाई ‘नाइन ड्यास लाइन’ले आफ्नो क्षेत्रभित्र पारेको हो ।
यसको जानकारी चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले दिएको छ । ताइवानमाथि पनि आफ्नो दाबी प्रस्तुत गर्न चीनले ‘टेन्थ ड्यास लाइन’ को प्रयोग गरेको छ । अरुणाचल र अक्साइ चीन क्षेत्रमा बेइजिङको भारतसँग विवाद छ भने दक्षिण चीन सागरमा फिलिपिन्सलगायत मुलुकसँग विमति छ ।
केही समयअघि अरुणाचलका केही स्थानको नाम पनि चीनले परिवर्तन गरेको थियो । नयाँ नक्सामा तिनै परिवर्तिन नाम प्रयोग गरिएको छ । यसपछि चीनले डिजिटल नक्साहरु सार्वजनिक गर्ने जनाइएको छ । चीनको नयाँ नक्सालाई लिएर भारतले पनि आपत्ति जनाइसकेको छ ।