१५ भदौ, काठमाण्डौ।
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेका छन् । उनले मन्त्री,सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जनाइएको छ ।
दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने छलफल गर्नेछन् । होलेन काठमाडौं ओर्लिए लगत्तै परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्रालयमा भएको भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
होलेन काठमाडौंमा ओर्लिएसंगै अमेरिकी राजदुतावासले भनेको छ, ‘सिनेटर क्रिस भान होलेनलाई नेपालमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ ! आफ्नो भ्रमणका क्रममा होलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने छन्,’ अमेरिकी राजदूतावासले भनेको छ ।
होलेन अमेरिकाको मेरिल्यान्डका सिनेटर हुन् । नेपाल आउनु एक साताअघि उनले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग भेटवार्ता गरेका थिए । राजदूत खत्रीले संसद् भवन क्यापिटल हिलमा उनीसँग भेटेका थिए । एमसिसी परियोजनाहरू औपचारिक रूपमा कार्यान्वयनमा गएपछि नेपाल आउने उनी पहिलो अमेरिकी प्रतिनिधि हुन् ।