२५ भदौ, एजेन्सी ।
उत्तर कोरियाली नेता किम जोङ उन रूसको यात्रामा निस्किएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न उनी सोमबार प्योङयाङबाट रेलमा निस्किएका छन् । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाका सञ्चारमाध्यमहरूले रेल चढेर उन प्रशान्त महासागरको तटमा रहेको रूसी सहर भ्लादिभोस्तोकका लागि यात्रामा निस्किएका हुन् ।
युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भ्लादिभोस्तोकमा भेटेर उनले हतियार उपलब्ध गराउने विषयमा कुरा गर्ने अमेरिका लगायतका पश्चिमा राष्ट्रका अधिकारीहरुले बताइरहेका छन् । त्यसको बदलामा भोकमरीबाट टार्न रूसबाट खाद्यान्न ल्याउने उत्तरको डिल हुनसक्छ । उनको भ्रमणबारे तयारी गर्न केही दिनअघि उत्तर कोरियाली टोलीले रूसको भ्रमण गरेको थियो ।
उनले ४ वर्षपछि पहिलो पटक विदेश भ्रमण गरेका हुन् । उत्तर कोरियाली शासक उन बिरलै विदेश भ्रमण गर्छन् । विदेश भ्रमणमा जाँदा उनी रेलमा यात्रा गर्छन् । संसारभरिका नेता समय र सुविधाका कारण हवाइजहाज र हेलिकोप्टरमार्फत् यात्रा गरिरहेका बेला उन किन यातायातको पूरानो साधनमा यात्रा गर्छन ? के उनको रेल विशेष छ ? भन्ने प्रश्नमा धेरैको चासो छ ।
अमेरिकी समाचार पत्र न्यूयोर्क टाइम्सका अनुसार किमको शासनजस्तै रेलको चलन पनि हजुरबुवाबाट बुवा हुँदै उनीसम्म आइपुगेको हो । उत्तर कोरियामा शासन गर्ने किम तेस्रो पुस्ताका नेता हुन् । सन् १९५० को दशकमा दुई कोरिया छुट्टिएपछि उनका हजुरबुबा किम इल सङ शासक बनेका थिए । उनै सङले रेलबाट विदेश जाने चलन ल्याएका हुन् ।
सन् १९८४मा सङ रेलमै पूर्वी युरोप गएका थिए । त्यसलाई उनका छोरा किम जोङ इलले पनि निरन्तरता दिए । इलको सन् २०११ मा रेल यात्राकै क्रममा हृदयघात भएर निधन भएको बताइन्छ । तेस्रो पुस्ताका उनले पनि आफ्नो पहिलो विदेश भ्रमण रेलबाटै गरे ।
रेलका हरेक डब्बा बुलेट प्रुफ हुन्छन् । सामान्य रेलको तुलना धेरै तौल हुने भएकाले यसको गति कम हुन्छ । यो रेल प्रतिघन्टा ३७ माइल (झन्डै ६० किलोमिटर) सम्म कुद्छ । यही रेलका लागि उत्तर कोरियामा २० वटा छुट्टै स्टेशन बनाइएको छ ।