१३ कार्तिक, काठमाण्डौ ।
नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस अहिले पोखरामा छन् । उनी भोलि अन्नपूर्ण बेस क्याम्प पुगि लुम्बिनी हुँदै सोलुसम्म पुग्नेछन् । आइतबार दिनभर उच्चस्तरीय भेटवार्ता सकेका उनले संसदमा समेत सम्बोधन गर्ने तालिका छ । उनको भ्रमणलाई लिएर राजनीतिक दलका नेताहरु देखि विज्ञ र नागरिक समाजले समेत विभिन्न सुझावहरु दिदै आएका छन् ।
अहिले गुटेरेसकै भ्रमणका क्रममा लामो समयदेखि पूर्ण हुन् नसकेको संक्रमणकालीन न्यायकै विषयमा सबैले चासो राखिरहेका बेला द्वन्द्व पीडित र माओवादीका पूर्व बाल सैनिकहरुले भने गुटेरेससँग न्यायको अपिल गरेका छन् । सशस्त्र द्वन्द्व पीडितका पाँचवटा संघ÷संगठनले नेपाल भ्रमणमा रहेका गुटेरेससँग भेटका लागि समय माग गरेका छन् ।
चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयलाई एजेण्डा बनाएकोमा खुशी व्यक्त गर्दै उनीहरुले वास्तविक पीडित आफूहरुसँग भेटेर पीडा सुनिदिन महासचिव गुटेरेसलाई आग्रह गरेका हुन् ।
बेपत्ता परिवार समाजका अध्यक्ष रुपेश शाह, द्वन्द्व पीडित असाहय राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र केसी, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालकी अध्यक्ष सृजना सिंह, द्वन्द्व पीडित राष्ट्रिय संघका अध्यक्ष गोपाल शाह र द्वन्द्व पीडित साझा मञ्चका कार्यवाहक अध्यक्ष कल्याण बुढाथोकीले आज महासचिव गुटेरेसलाई आफूहरुसँग भेट गर्न संयुक्त रुपमा आग्रह गरेका हुन् ।
महासचिव गुटेरेसले नेपालको संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय मानवता, नेपालको न्यायालय र पीडितहरुको हितका आधारमा टुंग्याउनुपर्ने विषयमा सार्वजनिक चासो राखेकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् । तर महासचिवको भ्रमणमा आफूहरु प्राथमिकतामा नपरेकोमा उनीहरुले दुःख पोखेका छन् ।
‘नेपालको दशक लामो द्वन्द्वका हामी पीडितहरु यहाँको भ्रमणको प्राथमिकतामा नपर्नुले हामीलाई दुःख लागेको छ’, महासचिव गुटेरेसलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ । उनीहरुले गुटेरेस जानुअघि आफूहरुसँग भेटिदिन आग्रह गरेका छन् ।
‘नोभेम्बर १ सम्म यहाँको प्रस्थान समय अगाडि प्रतिनिधिमुलक रुपमा हामी पीडितहरुसँग भेटेर हामी हाम्रो सामूहिक पीडा, संक्रमणकालीन न्याय प्रक्रियाका अनुभूति, त्यसका लागि आफ्ना सुझावहरु बाँड्न चाहन्छौं’, उनीहरुले महासचिवलाई आग्रह गरेका छन् ।
उनीहरुले नेपालमा संक्रमणकालीन न्यायको विषय टुंग्याउन तत्कालै ऐन बनाइ सबैलाई न्याय हुने प्रक्रिया अवलम्बन गर्नुपर्ने विषय पनि उठाएका छन् । ‘जबकी हाम्रो आफ्नै सरकार समेत तपाईंसँग भेट गराउन उत्सुक छैन, हामी आशा गर्छौं कि हामी पीडितहरुसँग भेटका लागि गरिएको यो अनुरोधलाई यहाँले सकारात्मक ढंगले लिनुहुनेछ’, पत्रमा भनिएको छ ।

यसअघि माओवादीको सशस्त्र जनयुद्धका पूर्वबालसैनिकहरुले आफूहरुलाई अन्याय भएको गुनासो गरेका थिए । उनीहरुले महासचिव गुटेरेससँग न्यायका लागि अपीलसमेत गरेका छन् । आफूहरुलाई अन्याय गरेर संक्रमणकालीन न्यायको विषय टुंग्याउन खोजिएको भन्दै न्यायका लागि उनीहरुले गुटेरेससँग अपील गरेको बालसैन्यका सदस्यहरुले बताएका छन् ।
गुटेरेस नेपाल उत्रिनु अघि नै बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले काठमाडौँस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयमार्फत गुटेरेससँग न्यायका लागि अपील गरेको बताएका छन् । उनले शान्ति प्रक्रियाबाट आफूहरुलाई पूर्णतया बाहिर राखिएकोमा आपत्तिसमेत जनाउँदै यस्तो अपील गरेका छन् ।
‘लडाइँमा नाबालिगहरूको प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानून विरुद्धको अपराध हो, र हामी पीडित छौँ, हामी भूतपूर्व बालसैनिकहरू सन् २००६ देखि आजसम्म नेपालको शान्ति प्रक्रियाबाट पूर्णतया बाहिर छौँ । यस निर्मम उपेक्षाबारे संसदमा रहेको सङ्क्रमणकालीन न्याय विधेयकमा पनि कुनै उल्लेख गरेको पाइँदैन, नत संयुक्त राष्ट्रसंघले यस विषयमा सक्रियता देखाएको छ’, पूर्व बालसैन्य विष्टले राष्ट्रसंघीय महासचिवलाई लेखेको अपीलमा भनिएको छ ।
विष्टले अपिलमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध बाल सैनिकको प्रयोग र शोषणबारे अदालतमा मुद्दा दायर गरिएको पनि जानकारी गराएका छन् ।