सर्वाधिक बालोन डि’ओर जितेपछि मेसीले के भने ?

सर्वाधिक बालोन डि’ओर जितेपछि मेसीले के भने ?

१४ कार्तिक,एजेन्सी ।
विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड आठौं पटक जितेपछि आफूसँगै प्रतिस्पर्धामा रहेका केलियन एमबाप्पे र एर्लिङ हालान्डलाई सान्त्वना दिएका छन् । अवार्ड थापेपछि ३६ वर्षीय मेसीले एमबाप्पे र हालान्डले एक दिन यो अवार्ड हात पार्ने विश्वास व्यक्त गरेका छन् । २०२३ मा मेसीले यो अवार्ड हात पार्दा हालान्ड दोस्रो स्थानमा रहे भने एमबाप्पे तेस्रो स्थानमा रहेका छन् ।

‘हालान्ड र एमबाप्पेले एक दिन बेलोन डीअर जित्नेछन् । यसपटक एर्लिङ धेरै हकदार देखिएका थिए। उनले च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधिसहित हरेकमा सर्वाधिक गोलकर्ता पनि थिए। यो अवार्ड आज तिमीले पनि जित्न सक्थ्यौ। म ढुक्क छु की तिमीले आउँदा वर्षहरुमा यो अवार्ड हात पार्ने छौ ’, मेसीले भनेका छन् ।

एमबाप्पेकै फ्रान्सलाई विश्वकप फाइनलमा हराएर मेसीले गत वर्ष अर्जेन्टिनाका लागि विश्वकप उपाधि जिताएका थिए । अर्जेन्टिनालाई ३६ वर्षपछि मेसीले आफ्नै कप्तानीमा विश्वकप विजेता बनाएका थिए । प्रतियोगितामा मेसीले गोल्डेन बल र एमबाप्पेले गोल्डेन बुट जितेका थिए। हालान्ड र एमबाप्पे दुवैले हालसम्म बालोन डि’ओर जित्न सकेका छैनन्।

उनीहरु दुवैलाई नयाँ पुस्ताका होनाहार खेलाडीका रुपमा हेर्न थालिएको छ। सन् २०१८ मा विश्वकप जितेका एमबाप्पेले दुई सिजन मेसीसँगै एउटै क्लब पेरिस सेन्ट जर्मेन पिएसजीबाट व्यावसायिक फुटबल खेलेका थिए। यता नर्वेका हालान्ड इङ्लिस प्रिमियर लिगमा भित्रिएकै सिजन चम्किएका थिए। उनी प्रिमियर लिगको एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए।

यसका वावजुद १६औं पटक मनोनयनमा परेका मेसीले विश्वकप उपाधिसहित बालोन डि ओर अवधि भरि ३८ गोल र २५ असिस्ट गरेका थिए । मेसीले यसअघि यसअगाडि सन् २००९ देखि लगातार २०१०, २०११, २०१२ सम्म तथा २०१५, २०१९ र २०२१ मा यो अवार्ड हात पारेका थिए ।

यो अवार्ड १९५६ देखि वितरण हुँदै आएको छ । मेसी ५ पटक यो अवार्डका लागि दोस्रो भएका छन् भने एक पटक २००७ मा तेस्रो भएका थिए । यस्तै यो अवार्ड अहिले साउदीबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज विश्व स्टार क्रिष्टियानो रोनाल्डोले ५ पटक जितेका छन् । उनी ६ पटक दोस्रो स्थानमा रहेका थिए भने एक पटक तेस्रो स्थानमा रहेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.