१७ कार्तिक, काठमाण्डौ ।
मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँको एकैघरका आमा र तीन सन्तान हत्या भएको १० दिन बित्यो घटनाबारेमा केही पत्ता लागेको छैन । कात्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीले जानकारी दिएको थियो । घटनाबारे कात्तिक १० गते छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मुगुले अनुसन्धान गरिरहेको थियो । यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेत र जुम्लाबाट छुट्टाछुट्टै टोली खटाएको थियो भने कुकुरसमेत अनुसन्धानमा परिचालन गरिएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयले शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई घटनाको अनुसन्धानका लागि पत्राचार गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता गोपालचन्द्र भट्टराईले बताएका छन् ।
अहिलेसम्म घटनाको अनुसन्धानमा प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल, जगन्य हत्या अनुसन्धान टोली, सादा पोसाकको टोली अनुसन्धानमा लागि परेका छन् । छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो ।
हत्यापछि हत्याराले श्रीदेवीको मोबाइल साथमा लिएर गएको भट्टराईले बताएका छन् । परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चारजना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए ।
मानसिक रूपमा विक्षिप्त भएपछि कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै उनका कान्छा ससुरा खेमबहादुर रावलको जिम्मा लगाएको थियो । दीपकले हत्या गरिएकी श्रीमती र तीन छोराछोरीको शव परीक्षण सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए ।