नेपालमा रहेको दूतावास बन्द गर्दै उत्तर कोरिया

२१ कात्तिक ८०, बुधबार

२२ कार्तिक,काठमाण्डौ ।
उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी उक्त जानकारी दिएका हुन् । नेपालका लागि उत्तर कोरियाका राजदूतले यसअघि नै परराष्ट्र मन्त्रालयलाई दूतावास बन्द गर्ने जानकारी दिएका थिए।

Advertisement

सोमबार परराष्ट्र सचिव भरतराज पौड्यालसँगको भेटमा पनि दूतावास बन्द गर्न लागिएको जानकारी उनले पुनः दोहो¥याएका थिए । दूतावास बन्द भएपछि भारतको नयाँदिल्लीस्थित उत्तर कोरियाली दूतावासले नेपाललाई हेर्नेछ । नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध जोडिएको थियो ।

सोही वर्ष उत्तर कोरियाले नेपालमा आवासीय दूतावास खोलेको थियो । नेपालमा दूतावास खोलेको ४९ वर्षपछि उत्तर कोरियाले आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । राजदूत मेनले दूतावास बन्द गर्नुपर्ने कारणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । उनले बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

Advertisement

उनले छिमेकी मुलुक भारतमा दूतावासले नै नेपाल मामिला हेर्नेबारे जानकारी समेत दिएका छन् । प्रधानमन्त्री प्रचण्डले उत्तर कोरियाको यो निर्णयप्रति दुःख व्यक्त गर्दै राजदूत मेनसँग छिट्टै पुनः दूतावास सञ्चालनमा ल्याउने आशा रहेको बताएका थिए । प्रचण्डले राजदूत मेनलाई उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउन भूमिका खेलेको भन्दै आभारसमेत व्यक्त गरेका थिए ।

ललितपुरको झम्सिखेलमा उत्तर कोरियाको दूतावासको कार्यालय रहेको छ । अहिले सीमित कर्मचारी राखेर उत्तर कोरियाले आफ्नो दूतावास सञ्चालन गर्दै आएको थियो । नेपालमा उत्तर कोरियाले आफ्नो दूतावास स्थापना गरेपनि नेपालले भने उत्तर कोरियामा आफ्नो दूतावास स्थापना गरेको छैन ।

Advertisement

चीनको बेइजिङमा रहेको नेपाली दूतावासले उत्तर कोरिया मामिलासमेत हेर्दै आएको छ । संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण सन् २०१९ को डिसेम्बरमा नेपालमा उत्तर कोरियाले गर्दै आएको व्यवसायहरू बन्द भएका थिए । उत्तर कोरियाले काठमाडौं र लतिलपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको थियो ।

त्यस्तै तनहुँमा अस्पताल सञ्चालन गरेको थियो भने कञ्चनपुरको एक अस्पतालमा उत्तर कोरियाली चिकित्सकहरूले काम गर्दै आएका थिए । उत्तर कोरियाली दूतावासको संरक्षणमा सञ्चालन हुँदै आएका ती व्यवसायहरू राष्ट्रसंघको नाकाबन्दीका कारण बन्द भएपछि उसले आर्थिक संकट झेल्दै आएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top