२२ कार्तिक,काठमाण्डौ ।
उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी उक्त जानकारी दिएका हुन् । नेपालका लागि उत्तर कोरियाका राजदूतले यसअघि नै परराष्ट्र मन्त्रालयलाई दूतावास बन्द गर्ने जानकारी दिएका थिए।
सोमबार परराष्ट्र सचिव भरतराज पौड्यालसँगको भेटमा पनि दूतावास बन्द गर्न लागिएको जानकारी उनले पुनः दोहो¥याएका थिए । दूतावास बन्द भएपछि भारतको नयाँदिल्लीस्थित उत्तर कोरियाली दूतावासले नेपाललाई हेर्नेछ । नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध जोडिएको थियो ।
सोही वर्ष उत्तर कोरियाले नेपालमा आवासीय दूतावास खोलेको थियो । नेपालमा दूतावास खोलेको ४९ वर्षपछि उत्तर कोरियाले आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । राजदूत मेनले दूतावास बन्द गर्नुपर्ने कारणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । उनले बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
उनले छिमेकी मुलुक भारतमा दूतावासले नै नेपाल मामिला हेर्नेबारे जानकारी समेत दिएका छन् । प्रधानमन्त्री प्रचण्डले उत्तर कोरियाको यो निर्णयप्रति दुःख व्यक्त गर्दै राजदूत मेनसँग छिट्टै पुनः दूतावास सञ्चालनमा ल्याउने आशा रहेको बताएका थिए । प्रचण्डले राजदूत मेनलाई उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउन भूमिका खेलेको भन्दै आभारसमेत व्यक्त गरेका थिए ।
ललितपुरको झम्सिखेलमा उत्तर कोरियाको दूतावासको कार्यालय रहेको छ । अहिले सीमित कर्मचारी राखेर उत्तर कोरियाले आफ्नो दूतावास सञ्चालन गर्दै आएको थियो । नेपालमा उत्तर कोरियाले आफ्नो दूतावास स्थापना गरेपनि नेपालले भने उत्तर कोरियामा आफ्नो दूतावास स्थापना गरेको छैन ।
चीनको बेइजिङमा रहेको नेपाली दूतावासले उत्तर कोरिया मामिलासमेत हेर्दै आएको छ । संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण सन् २०१९ को डिसेम्बरमा नेपालमा उत्तर कोरियाले गर्दै आएको व्यवसायहरू बन्द भएका थिए । उत्तर कोरियाले काठमाडौं र लतिलपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको थियो ।
त्यस्तै तनहुँमा अस्पताल सञ्चालन गरेको थियो भने कञ्चनपुरको एक अस्पतालमा उत्तर कोरियाली चिकित्सकहरूले काम गर्दै आएका थिए । उत्तर कोरियाली दूतावासको संरक्षणमा सञ्चालन हुँदै आएका ती व्यवसायहरू राष्ट्रसंघको नाकाबन्दीका कारण बन्द भएपछि उसले आर्थिक संकट झेल्दै आएको थियो ।