१६ मंसिर,एजेन्सी ।
भारतले चौथो टि२० आई खेलमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै सिरिज उपाधि जितेको छ । पाँच खेलको सिरिजमा भारत ३–१ ले अघि छ । यो जितसँगै भारतले सर्वाधिक धेरै टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान समेत बनाएको छ ।
भारतले १ सय ३६ औं टी–२० अन्तराष्ट्रिय खेल जित्दै पाकिस्तानको सर्वाधिक १ सय ३५ टी–२० अन्तर्राष्ट्रिय जितको कीर्तिमान भंग गर्दै आफ्नो नाममा पारेको हो । रायपुरमा भएको चौंथो टी–२० मा अस्ट्रेलियाले तेस्रो टी–२० मा नायक बनेका म्याक्सवेललाई आराम दिएको थियो ।
त्यसो त जारी सिरिजमा भारतले आफ्नो स्टार खेलाडी रोहित शर्मा, विराट कोहलीलगायत खेलाडीलाई सुरुवातबाटै टिममा समेटेको थिएन । रायपुरमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।
उसका लागि रिन्कु सिंहले सर्वाधिक ४६ रन बनाउँदा जितेश शर्माले ३५ रन बनाए त्यस्तै, यशस्वी जैसवालले ३७ तथा ऋतुराज गाइकवार्डले ३२ रन बनाएका थिए । अस्ट्रेलियाका लागि बेन ड्वारस्विसले ३ विकेट लिँदा जसोन बेहेन्ड्रफ र तनभिर संगाहले समान २–२ विकेट लिएका थिए ।
१ सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रनमा समेटियो। उसका लागि ट्रभिस हेडले ३१ रन बनाउँदा कप्तान म्याथ्यु वेडले ३६ रनको अविजित इनिङ खेले । त्यस्तै, बेन म्याक्डेर्मोट र टिम डेभिडले समान १९–१९ रन बनाएका थिए ।
भारतका लागि अक्षर पटेलले ३ विकेट लिँदा दिपक चाहरले २ विकेट लिएका थिए । भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । अष्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ ।