हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन

काठमाडौँ, भदौ २४
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानको अध्यक्षतामा गठन गरिएको समुहमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजङ्ग गुरुङ र समिट एयरका वरिष्ठ इञ्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ सदस्य रहेका छन् ।

सो दुर्घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र सिफारिशसहितको प्रतिवेदन बुझाउन आजको मन्त्रिस्तरको निर्णयअनुसार सदस्य–सचिव आफैँले तोक्ने गरी जिम्मेवारी दिइएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको सो हेलिकप्टर धादिङको सत्यदेवी भन्ने स्थान आसपासको घनाजङ्गलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

दुर्घटनामा हेलिकप्टरमा सवार सात जनामध्ये पाँच जना यात्रु तथा एक विमानचालकको निधन भएको छ भने एक जना यात्रु आनी डोल्माको जीवितै उद्धार गरिएको थियो ।

Scroll to Top