१९ पुष, एजेन्सी।
आज दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ पर्न सक्ने समाचार भारतीय मिडियाहरुमा आएको छ । दिल्लीस्थित मुख्यमन्त्रीको निवासलाई अहिले सुरक्षाकर्मीले घेराबन्दी गरेकाले उनको गिरफ्तारी हुन सक्ने अनुमान गरिएको हो । दिल्ली सरकारका मन्त्रीहरू आतिशी र सौरभ भारद्वाजले चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गर्ने सूचना आफुहरुले पाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
दिल्ली मदिरा नीति मुद्दामा, भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट ( ईडी) ले मुख्यमन्त्री केजरीवाललाई तेस्रो पटक पत्र पठाएर सोधपुछको लागि बोलाएपनि उनी इडी समक्ष उपस्थित भएका छैनन् । उनको तर्फबाट ईडीलाई आफु अन्य काममा व्यस्त भएको जानकारी गराइएको थियो ।
साथै केजरीवलले आफुलाई लिखित रुपमा सोध्न आग्रह गर्दै लिखित जवाफ पठाउन तयार रहेको बताएका थिए । केजरीवालले इडीका पत्रलाई गैरकानूनी र राजनीतिक रूपमा प्रेरित भन्दै आएका छन् । कानून विज्ञहरूका अनुसार ईडीले केजरीवाललाई गैर–हाजिरीको लागि जमानत योग्य वारेन्ट जारी गर्न सक्ने बताएका छन् ।
गत अप्रिलमा सीबीआईले यसै प्रकरणमा केजरीवालसँग साढे ९ घण्टा सोधपुछ गरेको थियो । केजरीवालले सीबीआईका सबै प्रश्नको जवाफ दिएको बताउदै आफ्नो इमान्दारीतासँग सम्झौता नगर्ने बताएका थिए । दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टीका नेता संजय सिंह र तत्कालिन उप मुख्यमन्त्री मनिष सिसोदिया प्रहरी हिरासतमा नै छन् ।
पक्राउ पर्ने चर्चाकै बीच आज केजरीवाल भने आफ्नो मिशन लोकसभा चुनावको सुरुवातका लागि गुजरात जादैछन् । आम आदमी पार्टीका अनुसार केजरीवाल ६ जनवरीदेखि तीन दिनसम्म गुजरातमै रहेर आउँदो चुनावको तयारी गर्नेछन् । भारतमा आम निर्वाचनको तयारी भइरहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि मैदानमा उत्रिँदै छन् । विपक्षी दलहरु भने उनलाई रोक्ने कसरतमा छन् । केजरीवालसहित झारखण्डका मुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चा पार्टीका नेता हेमन्त सोरेन कानुनी जालमा फस्ने खतरा देखिएको छ ।
झारखण्ड राज्यका मुख्यमन्त्री सोरेनलाई पनि इडीले ७ पटक पत्र जारी गरिसकेको छ । तर उनी अहिलेसम्म इडीमा हाजिर भएका छैनन् । सातौं पत्र भने इडीले उनलाई चेतावनीयुक्त शैलीमा ‘कुनै पनि हालतमा उपस्थित हुन’ भनेको छ ।