७ माघ,एजेन्सी ।
नेपाली क्रिकेट टोलीले आज आईसीसी यू–१९ विश्वकप क्रिकेटको यात्रा सुरु गर्दै छ । दक्षिण अफ्रिकामा नेपालले विश्वकपमा ८ वर्षपछि पुनरागमन गर्दा पहिलो भेट टेस्ट टोली न्युजिल्यान्डसँग गर्दैछ । खेल आज दिउँसो १ ः४५ मा सुरु हुनेछ । नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।
नेपाल किवी टोलीसँग नहारेको इतिहास दोहोर्याउने लक्ष्यका साथ मैदान उत्रिँदै छ । नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ । २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो ।
सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू–१९ भने तुलनात्मक रुपमा न्युजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ । दक्षिण अफ्रिका तीव्र गतिका बलरलाई बढी सहयोग मिल्ने गर्दछ । नेपालले खेल्ने आजको बफेलो पार्कमा पाकिस्तान र अफगानिस्तानसँगको खेलमा पनि तीव्र गतिका बलर हाबी बनेका थिए ।
नेपालका गुलशन झाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । सिनियर टोलीका प्रमुख अलराउन्डर समेत रहेका गुलशनबाट टोली ब्याटिङ र बलिङ दुवैमा ठूलो अपेक्षा गर्नेछ । उनले नेपालको लागि २४ ओडीआई र १४ टी–२० आई खेल खेलेका छन् । भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता ठूला टोलीविरुद्ध खेलेको अनुभव गुलशनसँग छ ।
बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता र आकाश चन्द पनि नेपालका तीव्र गतिका बलिङ हतियार हुन् । यता ब्याटिङमा देव खनाल, अर्जुन कुमाल र गुलशन झा प्रमुख हतियार हुन् । कप्तान देव खनालले सिनियर टोलीबाट १० ओडीआई खेल खेलिसकेका छन् । यू–१९ मा पछिल्लो एक वर्षमा देवले तीन र अर्जुनले दुई शतक हानेका छन् ।
टोलीका सबैभन्दा भरपर्दा यी दुई ब्याटरबाट नेपाल आज ठूलो इनिङ चाहन्छ । यस्तै यसपटक लगातार यू–१९ उमेर समूहमा प्रतिस्पर्धा गरिरहेको टोलीमा अनुभवी प्रशिक्षक जगत टमाटाको उपस्थिति छ । उता न्युजिल्यान्डले वार्मअप खेलमा स्कटल्यान्डलाई १३० रनले हराएको थियो । वेस्टइन्डिजसँग ६ विकेटले हारेको थियो ।
स्कटल्यान्डविरुद्ध कप्तान ओस्करले ९७ बलमा ८ चौका र ६ चौकासहित ११२ रनको शतकीय इनिङ खेलेका थिए । ओस्करसँगै टम जोन्स प्रमुख ब्याटर हुन् । लेग स्पिनर ज्याक कमिङ आगामी दिनमा न्युजिल्यान्डको भविष्य भन्ने गरिएको छ । कमिङविरुद्ध खेल्दा ध्यान दिन आवश्यक देखिन्छ ।
तीव्र गतिका बलर म्याट रवे बलिङका हतियार हुन् । यसअघि दुई पटक मात्र समूह चरण पार गरेको नेपालले ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दा फेरि समूह चरण पार गर्ने लक्ष्य राखेको छ । समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् ।
त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।