राष्ट्रियसभा निर्वाचनः आज मध्यरातदेखि मौन अवधि

राष्ट्रियसभा निर्वाचनः आज मध्यरातदेखि मौन अवधि

८ माघ,काठमाण्डौ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राती १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै मध्यरातीदेखि चुनाव प्रसार÷ प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।

मौन अवधि मतदान कार्य समाप्त नहुन्जेलसम्म लागू हुनेछ । सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल,अन्तरक्रिया, सभा सम्मेलन,कार्यशाला गोष्ठी आदि गर्न पाउने छैनन् ।

कुनै पनि विधि,प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल,अनलाइन,छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश,सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नपाउने आयोगले जनाएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्यहरुका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरुका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरुको व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरु गोप्य मतदानव्दारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनेछन् ।

निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन सम्बन्धित सबैमा निर्वाचन आयोगले अनुरोध गरेको छ । राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि मतदान हुन लागेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.