१४ माघ,काठमाण्डौ ।
उमाकुण्ड गाउँपालिका– १ गुम्देलस्थित नदी किनारमा जलाउँदै गरेको शव लिखु नदीले बगाएको छ । शनिबार साँझ गुम्देल– १ का मृतक ३२ वर्षीय झपडबहादुर थापाको शव जलाउने क्रममा लिखु– २ जलविद्युत् आयोजनाले विद्युतगृहबाट विनासूचना एकैपटक ड्याम खोलिदिँदा जलाउँदै गरेको शव नदीले बगाएको हो । जल्दै गरेको शव चितासहित बगेको छ ।
अकस्मात् नदीमा बाढी आएपछि दाहसंस्कारका लागि नदी किनारमा पुगेका मलामीको समेत भागदौड मच्चिएको थियो । साँझको समयमा नदीमा आएको बाढीले नदी किनारमा भागदौड मच्चिँदा मलामीहरू सम्पर्कविहीन भएका थिए ।
नदीले शवसँगै मलामीसमेत बगाएको आंशका गरिए तापनि सबै मलामी आइतबार बिहान मात्रै सम्पर्कमा आएको स्थानीय राजेन्द्र बस्नेतले जानकारी दिए ।उनले भने, ‘जलविद्युत् आयोजनाका कर्मचारीको ज्यादतीले गर्दा हामीले नदी किनारमा शवसमेत जलाउन पाएका छैनौँ । अहिले पनि हराएको शव खोजी कार्यमा जुटेका छौँ ।’
नदी किनारामा जलाउँदै गरेको शव बगाएको र दाहसंस्कारका लागि गएका मलामीसमेत हराएको आशंकामा शनिबार साँझदेखि नै सोलुको किग्जा प्रहरी चौकी र रामेछापको बाम्तीको प्रहरी चौकीबाट शव खोजी कार्यको लागि प्रहरी परिचालन गरिएको छ ।
स्थानीय र प्रहरी शव खोजी कार्यमा जुटे पनि अहिलेसम्म शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।