सुन्दर र स्वच्छ काठमाडौं बालेनको अभियान

२४ माघ ८०, बिहीबार

२५ माघ,काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाले महानगर भित्रका सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न मिल्ने झण्डै २ हजार सेट डस्टबिन (फोहोर दानी) राख्ने भएको छ। सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९५० सेट फोहोर दानी राखिने महानगरपालिकाले जनाएको छ।

फोहोर दानीको एउटा सेटमा २ वटा बिन (भाँडो) हुन्छन्। यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो। उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले बताएका छन् ।

Advertisement

‘स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ। महानगरपालिका सबै ठाउँमा एकै पटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकोले नमूनाका रुपमा हामीले वडा २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागेका छौँ,’ श्रेष्ठले भनेका छन् ।

यसका लागि घरदैलो कार्यक्रममार्फत् उत्पादकलाई वर्गीकरण विधिमा सचेत गराइने श्रेष्ठले जानकारी दिए। छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ्ग संकेतसहितको सवारी साधन तयारी गरिसकिएको पनि उनले बताए। ‘घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेका हौँ,’ उनले भनेका छन् ।

Advertisement

यसरी राखिने सेटहरु २ प्रकारका छन्। पहिलो खाले सेट सानो आकारको हो। यसमा राखिने एउटा विनको क्षमता ७० लिटरको हुनेछ। १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन्। यसमा राखिने स्ट्याण्डको मुल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मुल्य २ हजार ९५० रुपैयाँ हो।

यस्ता बिन ३ सय सेट राखिनेछन्। मध्यम आकारका सेटमा १.३ मिटर चौडाइ र १.४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ। १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन्। यसमा प्रयोग हुने स्ट्याण्डको मुल्य ५ हजार ४५० रुपैयाँ र बिनको मुल्य ३ हजार ८९० रुपैयाँ हो। विभागकाअनुसार यो मुल्य कर बाहेकको हो।

खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन्। बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिने छ। यी सेटहरु वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरुको जिम्मामा राखिनेछ। हरेक सेटमा नम्बर दिइएको छ। यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुने महानगरले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top