२९ माघ , काठमाण्डौ ।
लगातार तीन वटा खेल जित्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लिनस्वीप गरेको छ । पहिलो खेलमा रोमाञ्चक ७ रन, दोस्रो खेलमा ४ विकेटको जीतपछि अन्तिम खेलमा ९ विकेटको शानदार जीतसहित नेपालले क्लिनस्वीप गरेको हो ।
अन्तिम खेलमा २३३ रनको लक्ष्य पछ्याउने क्रममा शानदार जित दर्ता गर्दा अनिल साह र भीम सार्की दुवैले शतक प्रहार गरे । दोस्रो खेलमा क्यानडाविरुद्ध १९ बलमै सबैभन्दा छिटो अर्धशतक हानेर साहले नेपाली खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका थिए ।
लगत्तै फेरि उनले शतक प्रहार गरेका हुन् । लगातार दुई चौका प्रहार गर्दै ११८ बलमा शतक प्रहार गरेका हुन् । यस क्रममा उनले १२ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, अर्का खेलाडी भीम सार्कीले पनि शतक प्रहार गरे ।उनले १२७ बलमा शतक प्रहार गरेका हुन् ।
यस क्रममा उनले ११ चौका र १ छक्का प्रहार गरे । नेपालको लागि कुशल भुर्तेलले १३ रन बनाए । क्यानडालाई तेस्रो खेलमा पनि कम योगफलमा रोक्न डेब्यू गरेका हेमन्त धामीले ८ ओभरमा ४९ रन दिएर ३ विकेट लिए ।
कुशल मल्लले २, ललित राजवंशी र आकाश चन्दल एकएक विकेट लिए । नेपाललाई २३३ रनको लक्ष्य दिने क्रममा क्यानडाको लागि नवनीत धलिवालले ५०, निखिल दत्तले ४५, साद विन जाफरले ३१ र हर्ष ठाकेरले २९ रन बनाए ।
कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा दुई सय ३२ रनमात्र बनाएको थियो । क्यानडाका लागि नवनित धलिवालले ५० तथा निखिल दत्तले ४५ रन बनाए ।
कप्तान साद बिन जाफरले १५ बलमा अविजित रहँदै ३१ रन बनाए । नेपालका लागि हेमन्त धामीले ३ तथा कुशल मल्लले २ विकेट लिए । त्यस्तै ललित राजबंशी, आकाश चन्दले १ विकेट लिए ।
नेपालले सन् २०१८ मा एक दिवसीय मान्यता पाएपछि पहिलो पटक क्यानडासँग औपचारिक एक दिवसीय श्रृंखला खेलेको हो । नेपालको प्रशिक्षण मोन्टि देसाईले गरेका छन् भने क्यानडाको प्रशिक्षण नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका छन् । यो खेललाई विश्व लिग–२ को तयारी स्वरुप लिइएको छ ।