निर्णायक खेलमा क्यानडासँग हार्याे नेपाल

१० फागुन,काठमाण्डौ । 

घरेलु मैदानमा पाहुना टोली क्यनडा ११ सँग भएको तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोली चार विकेटले पराजित भएको छ। यो पराजयसँगै भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खलाको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । पहिलो एकदिवसीयमा क्यानडाले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो ।

दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडालाई दुई विकेटले पराजित गरेको थियो । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा बिहीबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि अविजित ५८ रनको योगदान गरे । उनले ७९ बलको सामना गरी ६ चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान एरोन जोन्सनले पनि ४२ रनको योगदान गरे । उनले ३१ बलमा चार छक्का र दुई चौका प्रहार गरे । नवनित धालिवालले पनि टोलीको खातामा ३८ रन थपे ।

उनले ४५ बलमा एक छक्का र चार चौका पनि प्रहार गरे । निखिल दत्त १४ रन बनाउँदै आउट भए भने दिलप्रित बाजवा ११ रनमा पेभेलियन फर्किए । क्यानडाले अतिरिक्त रुपमा केवल ६ रन पाएको थियो । नेपाली टोलीका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएका थिए ।

शेर मल्ल र बसिर अहमदले पनि एक–एक विकेट हात पारे । त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए । आशुतोषले २८ रन बनाए । उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काए । अर्जुनले पनि टोलीको खातामा २७ रन थपे । उनले ५३ बलमा दुई चौका प्रहार गरे ।

कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए । नेपालले अतिरिक्त रुपमा १२ रन पायो । क्यानडाका बलर डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट लिए । कलिम साना र साद जाफरले पनि एक–एक विकेट हात पारे । यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उक्त शृंखला भने नेपालले ३–० ले क्लिनस्विप गरेको थियो