चैत ५ , विराटनगर।
विराटनगरमा पूर्वप्रेमी प्रेमिकाबीचको प्रेम र धोकाको कारण दुई जनाको ज्यान गएको छ। विराटनगर– ४ स्थित नोबेल मेडिकल कलेजमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको ज्यान लिएपछि प्रेमी भनिएका २२ वर्षीय शिवशंकर दासले आफ्नै ज्यान लिएका छन् । चन्द्रिकाकुमारीको ज्यान लिएको ५ दिनपछि शिवशंकर समेत मृत भेटिएका छन् ।
शिवशंकर विराटनगर – ४ नोबेल हस्पिटल अगाडीको होटल फाइनको मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताएका छन् । सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्दै आएकी थिइन् ।
उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठाभित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो । चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशंकरले गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो ।
फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताएका छन् । अनुसन्धानको क्रममा फोनको लोकेसनका आधारमा प्रेमीको शव भेटिएको हो । शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ ।
शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारी अर्के युवासँग प्रेम सम्बन्धमा थिइन । प्रहरीले चन्द्रिकाकुमारीले प्रेममा धोका दिने भएपछि हत्या गरेको देखिएको बताएको छ ।
प्रेमी शिवशंकरले घरमा फोन गरी आफू जिवित नरहने बताएका थिए । शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । प्रहरीका अनुशार उनी २९ फागुनमा विराटनगर आए प्रेमिका चन्द्रिकाकुमारीको डेरामा बसेका थिए । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ ।