१७ चैत , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउमा शुरु हुनेछ । लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । तर पञ्जाब किङस्ले दुईं खेल खेलेकोमा एक जित र एकमा हार ब्यहोरेको छ ।
उसले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ४ विकेटले नै हारेको थियो । यस्तै गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले हराएको छ । बेंगलुरुले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ । कोलकाताको यो दोस्रो जित हो ।
आरसिबिको घरेलु मैदान चिन्नस्वामी स्टेडियममा भएको खेलमा पाएको १८२ रनको लक्ष्य केकेआरले १९ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो । केकेआरको जितमा भेन्कटेश ऐयरले ३० बलमा ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर सुनिल नरिनले २२ बलमा ४७ रन बनाए भने कप्तान श्रेयस ऐयर २४ बलमा ३९ रन बनाएर अविजित रहे ।
अर्का ओपनर फिल साल्टले २० बलमा ३० रन बनाए । आरसिबिका लागि यश दयाल, मयंक डागर र विजयकुमार भिशाकले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबिले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन जोड्यो ।
घरेलु टोलीका लागि विराट कोहलीले ५९ बलमा सर्वाधिक ८३ रन बनाए । यस्तै क्यामरन ग्रीनले ,घघ, क्लेन म्याक्सवेलले २८ तथा दिनेश कार्तिकले २० रन जोडे । केकेआरका लागि हर्षित राना र आन्द्रे रसेलले २–२ तथा सुनिल नरिनले १ विकेट लिए ।